काठमाडौं । सहकारी ठगी र त्यसले निम्त्याएका सामाजिक तथा आर्थिक पीडालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘महाभोज’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ।
सोमबार राजधानीमा आयोजित विशेष प्रदर्शनमा फिल्मले दर्शक र समीक्षक दुवैको प्रशंसा बटुलेको छ। फिल्मले मनोरञ्जन मात्र होइन, चेतनाका दृष्टिले पनि महत्त्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।
‘महाभोज’ले सहकारी संस्थाहरूमा हुने आर्थिक अनियमितता, ठगी, र राजनीतिक पहुँचको दुरुपयोगजस्ता मुद्दाहरूलाई सशक्त रूपमा उठाएको छ। एक दर्शकले भने, ‘फिल्म हेर्दा मनोरञ्जन मात्र होइन, समाजको पीडा र अन्यायले मन भक्कानिएको महसुस भयो ।
विशेष शोमा सहभागी भएका साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी संरचना र व्यवस्थाको कमजोरीप्रति गहिरो प्रश्न उठाएको बताए । ‘हामी संविधान र कानूनअनुसार लोकतान्त्रिक गणतन्त्रमा बाँचिरहेका छौं, तर पीडितहरू अझै न्यायबाट टाढा छन् भन्ने यथार्थ फिल्मले छर्लङ्ग बनाएको छ’, उनले भने ।
वरिष्ठ अभिनेता हरिवंश आचार्यले सहकारीको नाममा सर्वसाधारणको पसिनाको कमाइ कसरी ठगी हुन्छ भन्ने कुरालाई फिल्मले सशक्त ढंगले प्रस्तुत गरेको बताए । “फिल्मले नेताहरूको भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग जस्ता विषयलाई नाङ्गो पारिदिएको छ,” उनले प्रतिक्रिया दिए।
अभिनेता सरोज खनालले फिल्मको सामाजिक सन्देशप्रति जोड दिँदै भने, “गोली चलाएर मारेको हत्यारा भन्दा मानसिक, आर्थिक दबाबले कसैलाई आत्महत्या गर्न बाध्य बनाउने व्यक्ति अझ ठूलो अपराधी हो । ‘महाभोज’ले यही कुरा अत्यन्त गहिरो रूपमा देखाएको छ ।”
आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, जितु नेपाल लगायतका कलाकारहरूले फिल्ममा दमदार अभिनय प्रस्तुत गरेका छन् । उनीहरूको अभिनयले कथालाई थप प्रभावशाली बनाएको छ।
कलाकार जितु नेपालका अनुसार फिल्म यथार्थ घटनामा आधारित छ र समाजको दुखद अवस्थालाई पर्दामा जस्ताको तस्तै देखाउने प्रयास गरिएको छ ।
‘महाभोज’ नेपाली समाजमा व्याप्त गम्भीर समस्यालाई उठाउँदै दर्शकलाई सोच्न र बदलिन प्रेरित गर्ने चलचित्र बनेको छ। यसले नेपाली फिल्म उद्योगमा यथार्थपरक र चेतनामूलक सिनेमाको एउटा नयाँ धार सुरु गर्ने संकेत गरेको छ ।
FACEBOOK COMMENTS