काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेकपा एमालेकी नेत्रृ रामकुमारी झाँक्रीलाई गाली नगर्न आग्रह गरेका छन् ।
आज बिहीबार एक भिडिओ सन्देश जारी गर्दै उनले नेत्रृ झाँक्रीमाथि तीखो व्यङ्ग्य गर्दै आफू बेकुफ नै भएकाले उनीमाथि गालीगलोजनगर्न आग्रह गरेका हुन् ।
भिडिओ सन्देशमा उनले भनेका छन्–
उनले भनेको कुरा पनि ठिकै हो, म बेकुफ नै हो । बेकुफ नभएको भए म कहाँ नेपालमा आएर डुल्थेँ त अनि । अहिलेसम्म जागिर गरेको छैन यत्रो अमेरिकामा पढेको मान्छे, जागिर नगर्ने मान्छे बेकुफ नभएर के हुन्छ त ? अनि केही व्यापार व्यवसाय गर्न जान्दै जान्दैन यो बेकुफले, खेती किसानी गर्न जानेकै छैन, त्यही डुल्नु मात्रै जानेको छ । गाउँगाउँ डुल्ने, गाउँलेलाई सघाउँछु भन्ने, गाउँलेले जे दिन्छन् त्यही खाने, जहाँ सुताउँछन् सुत्ने, अब यस्तो मान्छे बेकुफ नभएर के हुन्छ ?
अनि त्यत्रो सरकारले गर्नुपर्ने काम राष्ट्रिय आविष्कार केन्द्रजस्तो अनुसन्धान केन्द्र, नवप्रवर्तन केन्द्र खोल्छु भनेर उफ्रिने त्यो मान्छे महाको बुकुफ हो । ३० वर्षदेखि नचलेको वीरगञ्जको कवाडी कारखाना कृषि औजार कारखानालाई किताब बेचेर चलाउँछु भन्ने मुर्दार बेकुफ हो त्यो त ! त्यो जस्तो बेकुफ मान्छेलाई बेकुफ भनिन् एकदम ठिक भनिन् है । कसैले गाली नगर्नू ।


FACEBOOK COMMENTS