काठमाडौं । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ । जनजीवन प्रभावित लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
बुधबार रातिदेखिको लगातारको वर्षाले यहाँका जनजीवन प्रभावित भएको हो । वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन् । यस्तै, दैनिक कामकाज ठप्प भएको छ । दैनिक ज्याला मजदुरी गर्ने, यात्रुहरू तथा किसानलाई दैनिक कामकाज गर्न पनि कठिनाइ भएको छ । वर्षाले किसानले काटेको धानबाली र खरमा पनि क्षति पुगेको छ । पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार–३ श्रीकोटका दलजीत विष्टले गुनासो गरेका छन् । खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताउनुभयो । केही ठाउँमा काटेको खर कुहिन थालेको र पछि कुनै ठाउँका किसानले खर काट्न नपाउँदा किसान चिन्तित भएका छन् । यस्तै ग्रामीण सडक पानीले हिलाम्य हुँदा आवागमन पनि रोकिएको छ भने राजमार्गमा पनि वर्षाले सवारी सञ्चालनमा समस्या भएको चालकहरूले बताएका छन् ।
यस्तै पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो । अझै दुई–तीन दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागहमा वर्षा भइरहेको छ । अझै केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको । निरन्तर वर्षा भइरहेकाले बाढी र पहिराको सम्भावना हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS