काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेला गत महाशिवरात्रिको दिन औपचारिक रूपमा समापन भएको छ ।
यो धार्मिक मेला २०८१ पुस २९ (१३ जनवरी २०२५) बाट सुरु भएको थियो । ४५ दिनसम्म चलेको यो मेला अवधिमा ६६ करोड २१ लाखभन्दा बढी व्यक्तिले पवित्र गंगा नदीमा स्नान गरेर आफ्नो आस्था र भक्तिको प्रदर्शन गरे । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो संख्यालाई विश्व इतिहासमा एक अद्भूत भएको रूपमा उल्लेख गरेका छन् । महाकुम्भको समापन भए पनि मेलास्थल खाली हुन एक हप्ताभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ।
महाकुम्भ मेलाको मुख्य आकर्षण गंगा स्नान हो । यो वर्षको मेलामा ६६ करोड २१ लाखभन्दा बढी व्यक्तिले स्नान गरेको तथ्यांक उत्तर प्रदेश सरकारले सार्वजनिक गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै भनेका छन्, “यो विश्व इतिहासको एक अभूतपूर्व घटना हो । हाम्रो संस्कृति र आस्थाको यो प्रदर्शनले भारतको गौरवलाई विश्वसामु उभ्याएको छ” ।
महाशिवरात्रिको दिन, यो मेलाको अन्तिम दिन थियो, करिब डेढ करोड व्यक्तिले गंगामा स्नान गरे । यो दिन भगवान शिवको पूजा र उपासना गर्ने पर्वको रूपमा मनाइन्छ । भारतीय वायुसेनाले यो दिन श्रद्धालुहरूमाथि पुष्पवृष्टि गर्दै एयर शो प्रदर्शन गरेको थियो ।
FACEBOOK COMMENTS