काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ ।
नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।
यस सुविधा थप गरेसँगै ग्राहकहरूले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ, जसले गर्दा ग्राहकहरूको आफ्नो कार्डको विवरण अनधिकृत रूपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबारसमेत प्रमाणीकरण हुनेछ ।
यस प्रक्रियाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नका निमित्त ईमेल वा म्यासेजमार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।
यो सुविधा सुचारू भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास बैंकले लिएको छ ।
३डी सुविधा थप गर्दा मुख्यतया निम्न फाइदाहरू हुनेछन् :
ग्राहकहरूको वित्तीय जानकारी सुरक्षित हुने साथै अनधिकृत पँहुचबाट सुरक्षित हुने भएकाले ढुक्कसँग कारोबार गर्न सक्नेछन् ।
रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ ।
विश्वभर रहेका हजारौं ई-कमर्श वेभसाइटहरूले भिसा ३डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरू सजिलै स्वीकार गर्ने भएकाले ग्राहकहरूले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्नेछ्न ।
थप जानकारी तथा सहायता आवश्यकता परेमा ग्राहक सहायता कक्ष तथा बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू छन् ।
FACEBOOK COMMENTS