काठमाडौं । महालक्ष्मी विकास बैंकको दरवारमार्ग शाखाले काठमाडौंको नक्सालस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामग्री तथा पानी ट्याङ्कीका लागि ५० हजार रूपैयाँ सहयोग गरेको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमबीच विद्यालयलाई उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरूलाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको बैंकले सोही कार्यलाई निरन्तरता दिँदै उक्त सहयोग गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा सँगसँगै शारिरीक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको र कोभिड–१९ को जोखिमलाई न्यूनीकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए ।
उक्त सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूको स्वस्थ जीवनयापनमा मद्दत् पुग्ने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक गीता काफ्लेले बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको जानकारी गराउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरिन् । त्यस्तै बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमित कुमार झाले विद्यार्थीहरू देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउँदै बैंकको सहयोगले विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन् ।
बैंकले प्रदेश नं १ मा ५ वटा, मधेश प्रदेशमा १५ वटा, बाग्मती प्रदेशमा ३७ वटा, गण्डकी प्रदेशमा ९ वटा, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णली प्रदेशमा २ वटा र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करीब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलिकृत तवरले प्रदान गर्दै आइरहेको जनाएको छ ।
बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा इएमभी चिप्स बेस्ड ट्राभल कार्ड, ई–कमर्श कार्ड र डलर कार्ड जारी गरिसकेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS