![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्देशीय कारोबार सुविधा सुरू गरेको छ ।
उक्त सुविधा उपलब्ध गराउन बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग समझदारी गरेको छ । समझदारी पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश लम्साल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनसीएचएलसँग महालक्ष्मी विकास बैंकले गरेको यो अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता विकास बैंकहरूमध्येकै पहिलो भएको बैंकले जनाएको छ । भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैंकले उक्त सुविधा प्रदान गर्न सक्षम भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापश्चात् अन्तर्देशीय कारोबार (क्रस बोर्डर) भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमा पालना गर्दै महालक्ष्मी विकास बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुने छ ।
यसैगरी, भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधीनमा रही नेपालमा महालक्ष्मी विकास बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध रहेको बैंकले जनाएको छ ।
अन्तर्देशीय भुक्तानी सुरू भएपश्चात् विशेष गरी विद्यार्थीहरू, तीर्थयात्रीहरू, पर्यटकहरू तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकहरूलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन् । साथै मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।’
FACEBOOK COMMENTS