काठमाडौं । महालक्ष्मी विकास बैंकमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरू सम्मानित भएका छन् । बैंकले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।
बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्त्वपुर्ण सेवा तथा योगदान पुर्याएबापत ३६ जना कर्मचारीहरूलाई सम्मान गरिएको हो । विभिन्न शाखा कार्यालयहरू तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका ती कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् ।
कार्यक्रममा सञ्चालक समिति सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकहरूलगायत अन्य कर्मचारीहरूको उपस्थिति थियो । सम्मानित कर्मचारीहरूको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।
साथै, उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरूआतसमेत गरिएको छ । टोष्टमास्टर इन्टरनेशनलद्वारा मान्यताप्राप्त यो क्लब बैंकका कर्मचारीहरूमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा सञ्चार कौशल अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्यसहित गठन गरिएको हो । विकास बैंकहरूमा टोष्टमास्टर क्लबको औपचारिक सुरूआत गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ ।
जेठ महिनाभर बैंकले ३१औँ वार्षिकोत्सव मनाउन तय गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरूसमेत सफलतापूर्वक सम्पन्न भएका छन् । यस अवसरमा आगामी दिनहरूमा बैंकले आफ्ना ग्राहकहरूलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने प्रतिबद्धतासमेत जाहेर गरेको छ ।
FACEBOOK COMMENTS