काठमाडौं । पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण कार्य नरोक्न उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ।
स्वच्छन्द बिकोई बिल्डर्सले काठमाडौं महानगरपालिकाले दिएको निर्माण रोक्ने आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
गत माघ ९ गते महानगरले पत्र पठाई टावर निर्माण रोक्न निर्देशन दिएको थियो ।
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले निर्माण कार्य निरन्तर गर्न पाउनेगरी अन्तरिम आदेश जारी गरेको हो । यससँगै ठेकेदार कम्पनीलाई टावर निर्माण अघि बढाउन बाटो खुलेको छ ।
अदालतले भवनको तला थप्न महानगरबाट स्वीकृति लिइसकेको, नक्सा पास भइसकेको र नक्सा स्वीकृतिदेखिको सबै दस्तुर भुक्तानी भएको पाइएकाले निर्माण रोक्नुपर्ने कारण नभएको ठहर गरेको छ ।
ठेकेदार कम्पनीको वैध अपेक्षालाई समेत विचार गर्दै भवन निर्माणलाई निरन्तरता दिन उचित हुने ठहर अदालतको छ ।
एकपक्षीय सुनुवाईका आधारमा जारी भएको अन्तरिम आदेश भएकाले महानगरपालिकाले यसविरुद्ध आदेश खारेजको मागसहित अर्को निवेदन दर्ता गर्न पाउने व्यवस्था छ ।
यसअघि १२ तलाको अनुमतिप्राप्त काठमाडौं टावरलाई १९ तलाको अनुमति दिइएको भन्दै मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि छानविन समिति गठन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतसँगको विवादकै कारण काठमाडौं महानगरपालिकाले हालसम्म सभा गरेर बजेटसमेत पारित गर्न सकेको छैन ।
FACEBOOK COMMENTS