काठमाडौं । कलासँग सम्बन्धित व्यवसायी र स्वरोजगार कलाकारहरूले स्थानीय तहलाई आयकर नबुझाउने घोषणासँगै आन्दोलनको तयारी पनि थालेका छन् ।
नेपाल कमर्सियल आर्टिष्ट संघको ‘नेपाल सटर तथा भित्तेलेखन कला समिति’ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वृहत् अन्तरक्रिया कार्यक्रम’को म्यान्डेट अनुसार सरोकारवाला निकायहरूसँग वार्ता तथा छलफल गर्न र आवश्यकता अनुसार संघर्षका कार्यक्रम तयारी गर्न छुट्टाछुट्टै समिति गठन गरिएको हो ।
नेपाल कमर्सियल आर्टिष्ट संघका केन्द्रीय अध्यक्ष चन्द्र राजबंशीले दिएको जानकारी अनुसार संघका केन्द्रीय सल्लाहकार दिलीप राईको संयोजकत्वमा १५ सदस्यीय ‘दर रेट निर्धारण समिति’ गठन गरिएको छ । समितिको सदस्यसचिवमा व्यवसायी सुवास केसी रहेका छन् ।
यो समितिले कला व्यवसायमा आबद्ध आर्टिष्टहरूको पेशालाई थप मर्यादित र सशक्त बनाउन आवश्यक कार्य गर्ने अध्यक्ष राजबंशीले जानकारी दिए ।
यसैगरी कार्यक्रममार्फत व्यवसायी कृष्णमान श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । यो समितिले हाल देशका विभिन्न नगरपालिकाहरूमा बिचौलियाहरूको मनोमानी र उच्च एवम् अवैज्ञानिक करका दरबाट पेशाकर्मीहरूले खेप्नु परेको समस्या सुल्झाउन आवश्यक कार्य गर्ने छ ।
नगरपालिकाहरूले ठेकेदारी प्रथा र करको चर्को दरलाई नसच्याए चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमका सभापति तथा नेपाल कमर्सियल आर्टिष्ट संघको ‘नेपाल सटर तथा भित्ते लेखन कला समिति’का संयोजक केशव लामाका अनुसार अब चाँडै नै नगरपालिका, उपभोक्ता मञ्च, विज्ञापन बोर्डलगायत सम्बन्धित पक्षहरूसँग पहिलो चरणमा वार्ताको प्रयासबाट समस्या समाधान खोजिने छ ।
त्यसबाट उचित समाधान ननिस्केको अवस्थामा आफूहरू आन्दोलनको बाटोमा जानुको विकल्प नभएको संयोजक लामाको भनाइ छ । आफ्नो हक, अधिकार र पेशागत सुरक्षाका लागि सम्पूर्ण आर्टिष्टहरू एकजुट भइ तयारी अवस्थामा रहन पनि उनले आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS