काठमाडौं । नवरात्रको आज नवौं दिन हो । यो दिन सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौ दिन सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ ।
महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारी साधनको पूजा नगरेकाहरूले नवमिका दिन विश्वकर्माको पूजा गर्ने प्रचलन रहेको छ । आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ । कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ ।
यो दिन नेपाली सेनालगायत सुरक्षा निकायले कोत घरमामा रहेको हातहतियारको र निशानको पूजा गर्ने प्रचलन रहेको छ भने नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बली दिने परम्परा रहेको छ ।
देवीको बिसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ।
सिद्धगन्धर्वयक्षाद्यैः असुरैरमरैरपि ।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ।।
सिद्ध, गन्धर्व, यक्ष, असुर, देवता आदिले सिद्धि प्राप्तिको लागि सिद्धिदात्रीको आराधना गर्ने गर्छन् । कमलको फूललाई आफ्नो आसन बनाएकी देवी सिद्धिदात्रीको हातमा कलमको फूल, शंख, चक्र, गदा रहेको छ । अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व नाम गरेका अष्ट सिद्धिहरू यीनै देवीको कृपाबाट पाइने शास्त्रहरूमा उल्लेख गरिएको छ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।
आजको दिनमा घरघरमा पूजा गरेको नवदुर्गाको दशमीका दिन बिसर्जन गरिन्छ । नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्दछ ।
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी रहेको छ ।
FACEBOOK COMMENTS