काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ ।
राष्ट्र बैंकका अनुसार गत पुस महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२-८३ को ६ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६, र गैर–मदिराजन्य पेयपदार्थको ३.०४ प्रतिशतले बढेको छ । दाल तथा गेडाँगुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२, मरमसलाको ३.९२ र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.७५ प्रतिशतले बढेको छ । यस्तै, शिक्षाको ७.५६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेयपदार्थको ३.८५ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०३ प्रतिशतले घटेको छ ।

यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १. ९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५७ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५, मधेस प्रदेशको ३.३७, बागमती प्रदेशको २.१०, गण्डकी प्रदेशको १.७६, लुम्बिनी प्रदेशको २.६२, कर्णाली प्रदेशको १.०८ र सुदूरपश्चिम प्रदेशको १.२७ प्रतिशत रहेको छ । यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८, तराईको २.६५, पहाडको १.९४ र हिमालको २.६६ प्रतिशत रहेको छ ।

FACEBOOK COMMENTS