बेनी । रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ ।
प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्के । “घरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व मनाउनै समस्या छ”, दर्जीले भने ।
मालिका गाउँपालिका–२ रुमबाट बेनीमा चाडपर्वलाई लक्षित गरी सामान किन्न आउनुभएका रमेश पुनले बजारमा सामानको मूल्य आकाशिएको पाएको बताए । विगतका वर्षको तुलनामा यस वर्ष सामानको भाउ आकाशिएको र घरपरिवारका लागि आवश्यक पर्ने किनमेल गर्न मुस्किल परेको अनुभव सुनाए । “दरबाङ बजारमा भन्दा बेनीमा केही सस्तोमा सामान पाइन्छ कि भनेर आएको थिएँ, कहाँ सस्तोमा पाउनु, उल्टै गाडीभाडा र समय खेर गयो, चाडपर्व मनाउन पनि धौधौ हुने स्थिति आयो”, उनले भने ।
बजारमा अहिले दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा, सजावट र घरायसी सामानको मूल्य आकाशिएको छ । विगतका वर्षको तुलनामा यस वर्ष बजारमा ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म नै महँगी बढेर सामान आएको व्यवसायीहरू बताउँछन् । आफूहरूले खरिद गर्दा नै मूल्य बढेका कारण विगतको तुलनामा बजारमा सामग्रीको मूल्य केही बढेको उनीहरूको भनाइ छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले खाद्यान्नमा ६० प्रतिशतसम्म मूल्य बढेर आएको र त्यसको प्रत्यक्ष मार सर्वसाधारण र व्यवसायीलाई समेत परेको बताउनुभयो । चामल, जिरालगायत खाद्य सामग्रीको मूल्य गत वर्षभन्दा दोब्बर भएको छ । तेल, चिनीलगायतका सामग्रीको मूल्यसमेत बढेर आएको छ । “जिल्लामै कृत्रिम मूल्य बढेको छैन, हामीले व्यवसायीलाई निरन्तर सचेत गराइरहेका छौँ, माथिबाट आउँदा नै मूल्य अस्वाभाविकरूपमा बढेको हो, मूल्य बढेपछि स्वाभाविकरूपमा चाडपर्व खर्चिलो हुने देखिएको छ”, अध्यक्ष कटुवालले भने ।
बजारमा मूल्य बढेसँगै व्यापार व्यवसायमा पनि गिरावट आएको छ । अन्य समयको तुलनामा चाडपर्वको समयमा व्यापार बढे पनि विगतका वर्षको तुलनामा व्यवसाय खस्किएको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष दसैँको समयमा ३० प्रतिशत व्यापार कम भएको उनको भनाइ थियो ।
व्यापार व्यवसाय घट्नुमा बजारमा अस्वाभाविक मूल्यवृद्धिसँगै गाउँमा बसोबाससमेत कम हुँदै जानु अर्को कारण बनेको जानकार बताउँछन् । म्याग्दीको जनसङ्ख्या घट्दो क्रममा हुँदै जानु, गाउँ–गाउँमा बसाइँसराइका कारण रित्तिदै जानुले पनि उपभोक्ता घट्दै गएको हुनसक्ने व्यवसायीको अनुमान छ । देशव्यापीरूपमा आर्थिक सङ्कटको प्रभावले पनि धनी र हुनेखाने परिवारले समेत चाडपर्वमा खुलेर खर्च गर्न सक्ने अवस्था बनेको छैन ।
यस वर्ष बजारमा भेडाच्याङ्ग्राको मूल्यसमेत अस्वाभाविकरूपमा बढेको छ । हिमाली क्षेत्रमा पालन गरेर दसैँलाई लक्षित गरेर बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य ५० हजारसम्म पुगेको छ । भेडाच्याङ्ग्रामा प्रतिगोटामै गत वर्षभन्दा १० हजार बढी मूल्य बढेको छ । दसैँकै समयमा बजारमा अत्यधिक खपत हुने स्याउको मूल्यसमेत बढेको छ । अघिल्लो वर्ष प्रतिकिलो रु दुई सयमा खरिद बिक्री हुने स्याउ अहिले बजारमा प्रतिकिलो दुई सय ५० पुगेको छ ।
बजारमा बढेको मूल्यवृद्धिको नियन्त्रणमा सरकारले ध्यान नदिँदा सामान्य नागरिकले दसैँलगायतका चाडपर्वलाई सकसपूर्ण तवरले मनाउनुपर्ने अवस्थामा पुगेका छन् । भड्किलो तवरले चाडपर्व मनाउने संस्कारले समस्यामा परेका सर्वसाधारण नागरिक बजारमा बढेको मूल्यवृद्धिले चाडपर्वलाई खर्चिलो तवरले मनाउनुपर्ने बाध्यतामा पर्ने गरेका छन् ।
FACEBOOK COMMENTS