काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ पछि नेपाली विद्युतीय भुक्तानीमा वृद्धि भएसँगै पारदर्शिता र सुशासन अभिवृद्धिसँगै सम्पत्ति शुद्धिकरणमा टेवा पुगेको बताएका छन् ।
शनिबार नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय मुद्रा कोषले आयोजना गरेको ‘साउथ एसियन पाथ टु रेजिलिएन्ट ग्रोथ’ नामक सम्मेलनमा गभर्नर अधिकारीले विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई असरका रुपमा लिर्इ विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्फत मुलुकलाई दीगो आर्थिक वृद्धिको बाटोतर्फ लैजानुपर्नेमा जोड दिए । सम्मेलनले केन्द्रिय बैंकको क्षमता विकासमा महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै उनले आगामी दिनमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउन कोषलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सम्मेलनमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राखेका थिए । उनले मूल्य वृद्धि नियन्त्रण बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वय लगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतालाई जोड दिए ।
सम्मेलनमा भारतका लागि नेपाली राजदुत डा शङ्करप्रसाद शर्माले विशेषज्ञका रुपमा धारणा व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS