काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज छुट्ने सम्भावना रहेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका छन् ।
कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो । उक्त म्याद हिजो (बिहीबार) सकिएको छ । आज शुक्रबार महरालाई हाजिरी जमानी छाड्ने अथवा म्याद थप गर्ने टुंगो लाग्ने छ ।
अदालतले समेत महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्नु भन्ने आदेश दिएको थियो । उनी बिरामी भएकाले नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
भेपमार्फत नै भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी अहिले पुर्पक्षमा थुनामा छन् ।
FACEBOOK COMMENTS