काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए ।
निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा मन्त्री महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै थप निर्यात वृद्धिमा ध्यान दिन समेत आग्रह गरे ।
मन्त्री महतले निर्यात व्यवसायी महासङ्घ नेपालले उठान गरेका सवालहरू सबै जायज मागहरू रहेको उल्लेख गर्दै सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
यसै अवसरमा मन्त्री महतले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन अहिलेको आवश्यक नरहेको समेत प्रस्ट पारे । निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै मन्त्री महतले निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने बताए ।
FACEBOOK COMMENTS