काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका महावीर पुनले चुनावका लागि प्राप्त रकममध्ये खर्च कटाएर पनि ठूलो रकम बाँकी रहेको जानकारी दिएका छन्।
पुनले सार्वजनिक गरेको विवरणअनुसार दाताहरूबाट प्राप्त कुल रकम ५६ लाख ३७ हजार ८९३ रुपैयाँ ४७ पैसा रहेको छ । यसमध्ये चुनावी प्रचारप्रसार र अन्य काममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अहिले पनि बैंकमा २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी रहेको उनले बताएका छन् ।
उनका अनुसार बाँकी रहेको रकम बेनीमा पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गर्न प्रयोग गरिनेछ । सो कार्यालयमार्फत गाउँबाट सदरमुकाम आउने नागरिकलाई सरकारी कामकाज तथा विभिन्न कार्यालयमा आवश्यक सामान्य सहयोग नि:शुल्क रूपमा उपलब्ध गराइने उनले बताए ।
पुनले कार्यालय सञ्चालनका लागि दुई जना कर्मचारी राख्ने, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टरजस्ता उपकरण प्रयोग गर्ने योजना रहेको जानकारी दिएका छन् । चुनावी प्रचारका क्रममा गाउँगाउँमा पुग्दा यस्तो योजना आफूले मतदातासामु प्रस्तुत गरेको पनि उनले बताएका छन् । उनले ठूलो सहयोग गर्न नसके पनि नागरिकलाई सानो सहयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
पुनका अनुसार चुनावी प्रचारका क्रममा ४५ दिनसम्म १० देखि १६ जनासम्मको टोली बिहान ७ बजेदेखि राति १० बजेसम्म म्याग्दीका दुर्गम गाउँहरूमा पुगेको थियो । उनले जिल्लाका अधिकांश गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरिएको बताए ।

म्याग्दीको भौगोलिक अवस्था झापा वा काठमाडौँजस्तो नभएकाले छोटो समयमा सबै क्षेत्रमा पुग्न कठिन भएको उल्लेख गर्दै उनले सबै गाउँमा प्रचार गर्न ४५ दिन लागेको बताएका छन्।

FACEBOOK COMMENTS