काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले वैकल्पिक शक्ति भन्दै आएका अनुहारहरू एकपछि अर्को विवादमा मुछिँदै गर्दा फेरि पुराना दलहरूकै आवश्यकता महसुस हुन थालेको बताएका छन् ।
आज मङ्गलबार फेसबुकमा लेख्दै उनले मुलुकको परिवर्तन नयाँ अनुहार, चर्का नारा र लोकप्रियताले सम्भव नहुने तथा राजनीति चलाउन अनुभव, जिम्मेवारी र संस्थागत शक्ति चाहिने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जनमत पार्टीका अध्यक्ष सीके राउतको उदाहरण दिँदै उनले यस्तो लेखेका हुन् ।
जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिका लागि गम्भीर भएर काम गर्नुपर्ने समय आएको भन्दै उनले कांग्रेस, एमालेजस्ता दलहरूले पुराना गल्ती सच्याएर नयाँ सोचसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेता बस्नेतले लेखेका छन्–
वैकल्पिक शक्ति भन्दै आएका अनुहारहरू एकपछि अर्को विवादमा मुछिँदै गर्दा फेरि पुराना दलहरूकै आवश्यकता महसुस हुन थालेको छ ।
रवि लामिछाने छोटो समयमै उपप्रधान र गृहमन्त्री त बने, अहिले सहकारी ठगी आरोपमा जेलमा छन् । असङ्ख्य पुराना मुद्दा उठिरहेका छन् ।
राजा ल्याएर विगतको पाप पखाल्न तम्सेका दुर्गा प्रसाईं बैंक ठगी, लुटपाट र हिंसात्मक गतिविधिमा मुछिएर कस्टडीमा छन्– नयाँ पापको भारी बोकेर ।
र्याप गायक बालेन शाह काठमाडौंको फ्रस्ट्रेशन मत लिएर मेयर त बने तर कर्मचारी, वडा अध्यक्ष र प्रशासनसँगको लडाइँमै फसेर निकम्मा भए ।
सीके राउत आफ्नै कोषाध्यक्षलाई ७० लाख घुस काण्डमा जेल पठाउन बाध्य भए र आफू पनि आर्थिक लेनदेन गरेर सांसद बनाएको आरोपमा परे ।
यी घटनाले के देखाउँछ भने, मुलुकको परिवर्तन केवल नयाँ अनुहार, चर्का नारा र लोकप्रियता काफी हुँदैन । राजनीति चलाउन अनुभव, जिम्मेवारी र संस्थागत शक्ति चाहिन्छ ।
अब कांग्रेस, एमालेजस्ता दलहरूले विगतबाट सिकेर आफैँलाई सुधार्ने हो । पुराना गल्ती सच्याएर नयाँ सोचका साथ अघि बढ्ने ।
जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिको विषयमा गम्भीर भएर काम गर्नुपर्ने समय यही हो । देशले स्थायित्व, सुशासन र समृद्धि मागेको छ ।
न चमत्कार, न फगत नारा ।
FACEBOOK COMMENTS