काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको अनुगमन गर्ने भएको छ । यही पुस ८ गते मंगलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ । मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायतको पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ । आगामी फागनु २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।
२- श्रम संस्कृति पार्टीले उपाध्यक्ष मित्र परियारलाई निलम्बन गरेको छ । अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष परियारले गत शनिबार बुटवलमा आयोजित कार्यक्रममा पार्टीको आचारसंहिता विपरित हुने गरि अभद्र व्यबहार गरेको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरि गाली गरेकोले पदबाट निलम्बन गरेको जानकारी गराएका छन् । अध्यक्ष साम्पाङले पार्टीमा कोहि नेता या कार्यकर्ता नरहने सबै श्रमदाता रहने भएकाले सदस्यहरुलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यबहार गर्नेमाथि कारवाही गरिने स्पष्ट गरेका छन् । स्थापनाको छोटो समयमा नै श्रम संस्कृति पार्टीका दुई उपाध्यक्ष निलम्बनमा परेका छन् । यसअघि उपाध्यक्ष राजकुमार तामाङ लामालाई मङ्सिर २ गते निलम्बन गरेको थियो । कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले निलम्बन गरेको थियो ।
३- मङ्सिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड पुगेको छ । सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको मङ्सिर मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब एक अर्ब ६३ करोड र बाहृय १४ खर्ब ८६ अर्ब ९० करोड रहेको छ । गत असार मसान्तको तुलनामा मङ्सिर मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण एक खर्ब १४ अर्ब ४८ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४५.६६ प्रतिशत हो । चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा पाँच महिनामा एक खर्ब ७८ अर्ब १२ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति २९.४० प्रतिशत रहेको छ । गएको पाँच महिनामा १ खर्ब ७५ अर्ब १२ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ६७ अर्ब १ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब ३८ अर्ब ३० करोड साँवा र बाँकी २८ अर्ब ७० करोड रुपैयाँ ब्याजका लागि खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
४- आगामी आम चुनाव अगाडि बंगलादेशमा हिंसा बढ्दै गएको छ । शरीफ उस्मान हादीको गोली हानि हत्या गरेपछि अशान्त भएको बंगलादेशमा सोमबार, अज्ञात बन्दुकधारीहरूले अर्का युवा नेतालाई गोली हानेका छन् । यो घटनामा नेता मोतालेब सिकदरलाई गोली हानेका थिए । बंगलादेशको समाचार पोर्टल, द डेली स्टारका अनुसार, मोतालेब सिकदरको टाउकोमा गोली लागेको छ । सिकदरलाई गम्भीर अवस्थामा खुल्ना मेडिकल कलेज अस्पताल लगिएको थियो । विद्यार्थी नेताको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ ।

यो आक्रमण यस्तो समयमा भएको हो जब बंगलादेश अझै पनि युवा नेता शरीफ उस्मान हादीको हत्याबाट अशान्त बनिरहेको छ । डिसेम्बर १२ मा ढाकाको विजयनगर क्षेत्रमा चुनाव प्रचार गर्ने क्रममा नकाबधारी आक्रमणकारीहरूले हादीलाई टाउकोमा गोली हानेका थिए । ३२ वर्षीय हादीलाई उपचारको लागि सिंगापुर लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो । गोलीकाण्डको घटनापछि पार्टीले जारी गरेको विज्ञप्ति अनुसार, मोतालेब सिकदर राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता हुन् र पार्टीको खुलना डिभिजनका प्रमुख हुन्, साथै यसको वर्कर्स फ्रन्टको केन्द्रीय संयोजकको रूपमा पनि काम गरिरहेका छन् । रिपोर्ट अनुसार, ४२ वर्षीय सिकदर बंगलादेशमा २००४ को हिंसात्मक विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तित्व थिए ।

५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न अदालतमा धाइरहेको प्रतिक्रिया दिएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीले एक अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् । लामिछानेले भने, ‘गुन लाइदिनु भएको छ नि केपी ओलीजीले, खुब गुन लगाए भन्नु भएको थियो, त्यहि उहाँले लगाएको गुन तिर्न आएको छ । सात दिन भित्र बाँकी सबै अदालतमा हाजिर गर्नुपर्ने हुन्छ । दौडा दौड यस्तै चलिरहेको छ । विष शरीर भित्र बाँकी नै छ ।’ एक अन्तर्वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा ठुलो गुन लगाएको तर लामिछानेले आफूसँग अनावश्यक दुश्मनी गरेको टिप्पणी गरेका थिए ।

६- राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको थियो । सम्झौताबमोजिम ठेक्का तोडेपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ । आयोजनाको अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने कामलगायतको मूल्याङ्कन गरी लागत अनुमान तय गर्ने एवम् टेण्डरका कागजात बनाउने काम भइरहेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सोमबार रामछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित आयोजनाको हेडवक्र्स निर्माण क्षेत्रको निरीक्षण गरी टेण्डर रद्ध गरिएपछिको साइटको अवस्था र नयाँ टेण्डर निकाल्नका लागि भइरहेको प्रगतिको जानकारी लिएका छन् । मन्त्री घिसिङले आयोजनास्थलमै आयोजना व्यवस्थापन र परामर्शदातासँग छलफल गरी हाल भइरहेको मूल्याङ्कनको काम दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेण्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । उनले भने- ‘हालसम्म भएको काम, बाँकी काम, निर्माणका क्रममा देखिएका थप कामलाईसमेत समेट्ने गरी मूल्याङ्कन गरेर सोही बमोजिम नयाँ टेण्डर गर्नुपर्दछ, सुरुङ बनिसकेको आयोजनाको निर्माणमा ढिलाइ गर्नुहुँदैन, नयाँ तालिका बमोजिम निर्माण सम्पन्न हुने सुनिश्चित गरी नयाँ टेण्डरको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ ।’ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिंदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको,सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले पटेल—रमण जेभीसँगको ठेक्का टोडिएको थियो ।
आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीले कार्य सम्पादन वापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानी १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रिया अगाडि बढाएको थियो । आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पटेल—रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९बाट काम सुरु गरेको थियो । असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । आयोजनाको १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो ।
सुरुङ २६ वैशाख २०८१मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइने छ । हाल सिँचाइ भएको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत उत्पादन गरिने छ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादकत्वको वृद्धि किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युतसमेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्टिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
७- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १५.८३ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा आयात १५.८३ प्रतिशत बढेको छ भने निर्यात ५८.१७ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार पाँच महिनमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको आयात भएको थियो । यस्तै यस आर्थिक बर्षको पाँच महिनामा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७३ अर्ब ६८ करोड ९७ लाख ७१ हजार बराबरको निर्यात भएको थियो ।
यस आर्थिक बर्षको पाँच महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ५ खर्ब ८७ अर्ब ८२ करोड रहेको थियो । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड पुगेको छ । त्यसैगरी पाँच महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ८.९८ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.५८ गुणामा झरेको छ ।
८- नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार काठमाडौँको महाराजगन्जमा भएको भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । कांग्रेस र एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालतमा गएको अवस्थामा भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस र एमालेले विघटित प्रतिनिधि सभाका सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला देउवा र ओलीको भेट भएको छ ।
९- नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मनुसी लघुवित्तको शेयर ६.८४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको १० करोड ३० लाख कारोबार भएको छ भने सन नेपाल लाइफ इन्सुरेन्सको ८ करोड २६ लाखको कारोबार भएको छ ।
१०- प्रधानमन्त्री सुशिला कार्कीले राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुसँग निर्वाचन कानुन संशोधन गर्ने विषयमा छलफल गरेकी छन् । सिंहदरबारमा सोमबार जारी छलफलमा गृह मन्त्रालयले तीनवटा विषय सुझाव मागेको छ । सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, अन्तर निर्वाचन क्षेत्र मतदान गर्न पाउने र नो भोटको प्रावधान राख्ने विषयमा राजनीतिक दल र नागरिक समाजसँग सुझाव मागेको हो । यी विषयलाई समेटेर सरकारले निर्वाचनसँग सम्बन्धित चारवटा ऐन संशोधन गर्ने तयारी गरेको छलफलमा जानकारी दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
विधेयकमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, विदेशस्थित नेपाली नियोगलाई मतदान स्थलको रुपमा प्रयोग गर्न सकिने विषय समावेश गरिएको छ । नेपालमै रहेका तर आफ्नो नाम रहेको मतदान केन्द्र वा मतदान स्थल पुग्न नसकेकालाई अर्को निर्वाचन क्षेत्रबाट समेत मतदान गर्न सकिने प्रावधान पनि विधेयकको मस्यौदामा रहेको छ । साथै निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने विषयसमेत मतपत्रमा राख्ने विषय विधेयकमा समेटिएको छ ।छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेताहरु, नागरिक समाजका प्रतिनिधि तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी छन् ।
११- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको १७ दिनमा घरेलु बक्स अफिसमा ५७९.२० करोड भारु कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार तेस्रो साताको पहिलो शुक्रबार फिल्मले २३.७० करोड कमाएको थियो भने शनिबार ३५.७० र आइतबार ४०.३० करोड कमाई गरेको छ । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो साताको तीन दिनमा फिल्मले ९९.७० करोड कमाएको छ ।
फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा १२० करोड भन्दा बढी भारु कमाएको छ । रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।
१२- रुसको राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना प्रमुखको मृत्यु भएको छ । रुसको अनुसन्धान समितिले सोमबार बिहान कार बम विस्फोटमा लेफ्टिनेन्ट जनरल फामिल सरभारोभको मृत्यु भएको जानकारी दिएको छ । समितिका अनुसार सरभारोभ सशस्त्र बलको सञ्चालन तालिम विभागका प्रमुख थिए । यस विषयमा अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ । यस घटनामा युक्रेनी गुप्तचर निकायहरूको संलग्नताको पनि अनुसन्धान भइरहेको बताइएको छ । विस्फोट बारे युक्रेनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
१३- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी गरेको छ भने अन्य फिल्मले दर्शक आकर्षित गर्न असफल भएका छन् । परानले अहिलेसम्म १७ करोड ६१ लाख ५ हजार २८८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २५ हजार ६२५ टिकट बेचेको छ । त्यस्तै फिल्म हर्षले २८ लाख ७८ हजार ५३६ कमाइ गर्दा ८ हजार ८६६ टिकट बिक्री भएको छ । त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१ भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ४८ हजार ७०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८५० टिकट बिक्री भएको छ । त्यस्तै फिल्म पीआरले ६ लाख ६८ हजार ६३३ कमाई गरेको छ भने लोकन्तीले ४ लाख एक हजार ३४० कमाई गरेको छ । त्यस्तै फिल्म चिरागले ६८ हजार ४५० मात्र कमाई गरेको छ ।
१४- भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । स्वतन्त्र व्यापार सम्झौतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले फोनमा कुरा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री लक्सनले भनेका छन्- ‘न्यूजील्याण्ड-भारत स्वतन्त्र व्यापार सम्झौतापछि मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको छु । यस स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत, भारतमा हाम्रो ९५ प्रतिशत निर्यातमा भन्सार शुल्क घटाइने वा हटाइनेछ ।’ उनले आगामी दुई दशकमा न्यूजील्याण्डको भारतमा निर्यात वार्षिक १.१ अर्ब डलरले बढेर १.३ अर्ब डलर हुन सक्ने अनुमान गरिएको समेत बताएका छन् । उनले भने- ‘यो सम्झौताले दुई देशबीचको बलियो मित्रतालाई अझ बलियो बनाउछ । भारत विश्वको सबैभन्दा छिटो बढ्दो अर्थतन्त्रहरू मध्ये एक हो, र यसले न्यूजील्याण्डका उत्पादनहरूलाई १.४ अर्ब भारतीय उपभोक्ताहरूसम्म पुग्न अनुमति दिनेछ ।’
१५- जेनजी अभियन्ता मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनमा सहभागी डा. निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले आन्दोलनका लागि उपस्थिति हुन थालेपछि अनुमति नलिएर आन्दोलन गर्न नपाइने भन्दै माइकिङ गरेको थियो । ढुंगाना समुहले आजको माइतीघरमा प्रदर्शन गर्न प्रशासनिक अनुमति नलिएकोले अनुमति नलिएर कार्यक्रम गर्न नपाइने प्रहरीले माइकिङ गरेर जानकारी दिएको थियो । ढुंगाना समुहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको छ । अहिले माइतीघरमा उपस्थित भएका युवाहरुले नाराबाजी गरिरहेका छन् भने प्रहरीले उनीहरुलाई हटाउने प्रयास शुरु गरेको छ । युवाहरुले सुशिला कार्कीको राजीनामा मागिरहेका छन् भने जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्नेहरुलाई कारवाहीको माग गरेका छन् ।
१६- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आजदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) औपचारिक रूपमा खुला गरेको छ । कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर रु. ८२०.८० छ । कम्पनीले बुक-बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको हो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ । आईपीओको लागि प्रारम्भिक अन्तिम मिति पौष ११ गते रहेको छ भने त्यतिन्जेलसम्ममा निष्कासनमा पर्याप्त आवेदन नपरेमा पौष २१ सम्म बढाइने छ । यसअघि, एक लाख १५ हजार ५९६ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।
कुल १० लाख ४० हजार ३६४ इकाईमध्ये ५७ हजार ७९८ इकाई म्युचुअल फन्डका लागि छुट्याइएको छ भने ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी ९ लाख २४ हजार ७६८ इकाई सर्वसाधारणका छुट्टयाइएको छ । रिलायन्स स्पिनिङ मिल्सले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरेको छ । यस शेयरमा न्यूनतम ५० इकाइका लागि आवेदन दिन सकिन्छ भने अधिकतम २० हजारसम्म दिन सकिने छ । सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक-बिल्डिङ विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको र हाल ४३ सय भन्दा बढी कर्मचारीहरू सहित संचालनमा रहेको छ । कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइ रहेको रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो कम्पनि हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ ।
१७- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन समयमा हुन नदिने क्रियाकलाप भएको बताएका छन् । सोमबार काँग्रेस कार्यकर्तासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अहिले क्रियाशील सदस्यता समयमा नबुझाउने र ढिलो गर्ने काम भइरहेको महसुस आफुले गरेको बताएका छन् । थापाले महाधिवेशन समयमा गर्न अलमल गरेमा देशभरबाट काँग्रेस कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनमा जाने चेतावनी दिएका छन् । उनले महाधिवेशनको विकल्प नभएको भन्दै महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभएर पार्टीलाई बदल्ने विषय पनि भएको बताएका छन् । महामन्त्री थापाले महाधिवेशन बिना काँग्रेस निर्वाचनमा नजाने स्पष्ट गर्दै नियमति महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर मात्र निर्वाचनमा जाने स्पष्ट गरेका छन् । महामन्त्री थापाले अर्को प्रसंगमा फागुन २१ को निर्वाचनको विकल्प नभएको भन्दै जिते पनि हारे पनि निर्वाचनमा जानुपर्ने बताएका छन् ।
१८- नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ३४ सयले बढेर तोलाको २ लाख ६१ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर ४२३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४१०५ मा कारोबार भएको थियो ।
१९- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रका बारेमा दिएको अभिव्यक्तिप्रति पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले पुर्वराष्ट्रपति भण्डारीले आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला भन्ने प्रश्न गर्दै पुर्वराष्ट्रपति भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको बताएका छन् । ज्ञवालीले ईश्वर पोखरेल समुहले गरेको भेलाप्रति पनि प्रश्न उठाएका छन् । ज्ञवालीले महाधिवेशन सकिए लगत्तै गरिएको छुट्टै भेला अपेक्षित नभएको टिप्पणी गर्दै महाधिवेशनपछि पनि पूर्वकै ब्यागेज बोकेर दुई लाइनको सङ्घर्ष, प्रतिवाद, र खोक्रो एकता जस्तो बाटोमा हिँड्दा कहीँ नपुगिने बताएका छन् ।
२०- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ ।
मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजनास्थल पुग्नु भएका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिए । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताए । उनले भने- ‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन ।’
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख (करसहित)मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो । सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।
FACEBOOK COMMENTS