काठमाडौं । औलोलाई अंग्रेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महसुस हुने, वान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ ।
लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्याे भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरू हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ । एक पटक औलो लागेको केही समयपछि पुनः दोहोरियो भने दोस्रो पटकमा केही हल्का लक्षणहरू देखिन्छन् । यदि निरन्तर रूपमा औलोका कीटाणुहरू नरहने हो भने यो लागेपछि मानव शरीरले प्राप्त गर्ने प्रतिरोध क्षमता केही महिना वा वर्षमा हराएर जान्छ ।
प्रायःजसो यो रोग संक्रमित पोथी एनोफिलिस लामखुट्टेले सार्ने गर्दछ । लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको र्याल हुँदै मानिसको रगतमा पुग्छ । त्यसपछि यो परजीवी कलेजोमा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ । प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको संक्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसहरूमा पनि सर्न सक्छन् ।
विश्वभर प्लाज्मोडियम फाल्सिपेरमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु भएको पाइन्छ । प्लाज्मोडियम भाइभ्याक्स , प्लाज्मोडियम ओभल, प्लाज्मोडियम मलेरियाले साधारणतया मन्द खालको औलोको संक्रमण गराउँछन् । त्यस्तै अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा विरलै रोगको संक्रमण गराउने गरेको पाइन्छ । औलोको पहिचान गर्न रगतको नमुनालाई सूक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित र्यापिड डाइग्नोस्टिक परीक्षण गर्ने गरिन्छ । पोलिमरेज चेन रिएक्सनको प्रयोग गरेर परजीवीको डीएनए पत्ता लगाउने विधि पनि विकसित गरिएको छ । तर, मूल्य तथा जटिलताका कारण यो विधि औलो बारम्बार फैलिने स्थानहरूमा उल्लेख्य मात्रामा प्रयोग गरिँदैन ।
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घरवरपर पानी जमेका खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ । औलो लाग्ने क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूका लागि यसबाट बचाउने धेरै प्रकारका औषधिहरू उपलब्ध छन् । औलोको उच्च जोखिममा रहेका ठाउँहरूमा शिशुहरू तथा गर्भावस्थाको पहिलो चरण पार गरेका गर्भवती महिलाहरूलाई सल्फाडोक्सिन र पाइरिमेथामाइनजस्ता औषधि सिफारिस गरिएको छ ।
अत्यावश्यक भए पनि हालसम्म औलोबाट बचाउने कुनै खोप उपलब्ध छैन । यद्यपि, यस्तो खोप विकास गर्नका लागि विभिन्न स्थानहरूमा पहल भइरहेको छ । औलोको उपचारका लागि आर्टेमिसिनिन औषधिमा अन्य औलोविरूद्धका औषधिहरू मिलाएर खान सल्लाह दिइएको छ । त्यस्तै मेफ्लोक्विन, ल्युमफेन्ट्राइन, सल्फाडोक्सिन र पाइरामेथामाइनजस्ता औषधिहरूको प्रयोग गरिन्छ । आर्टेमिसिनिन नभएको अवस्थामा क्विनाइनलाई डोक्सिसाइक्लिनसँग मिलाएर दिन सकिन्छ ।
औलोको परजीवीमा औषधि प्रतिरोध बढ्दै गएको हुनाले बारम्बार औलो फैलिने स्थानहरूमा सकेसम्म रोगको पहिचान भएपछि मात्र औषधि दिन सिफारिस गरिएको छ । औलोका परजीवीहरूमा हालसम्म धेरै औलोविरूद्धका औषधिहरूको प्रतिरोध क्षमता विकसित भइसकेको छ । बारम्बार औलो फैलिने स्थानहरूमा क्लोरोक्वाइन नामको औषधिको प्रतिरोध क्षमता भएको प्लाज्मोडियम फाल्सिपेरम नामको परजीवी फैलिने गरेको पाइन्छ । त्यस्तै दक्षिणपूर्वी एसियाका केही स्थानहरूमा आर्टेमिसिनिन नामको औषधिको प्रतिरोध क्षमता भएका परजीवीहरू समस्याका रूपमा देखा परेका छन् ।
औलो मुख्यतया भूमध्यरेखा आसपासका शीतोष्ण तथा समशीतोष्ण भूभागहरूमा फैलिएको पाइन्छ ।
FACEBOOK COMMENTS