काठमाडौँ । २५ करोड नेपाली रुपैयाँभन्दा बढी हुन आउने विदेशी मुद्रासहित काठमाडौँबाट पक्राउ परेका व्यक्ति विगतमा सुन तस्करीमा समेत संलग्न रहेको खुलेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का ३९ वर्षीय कुशाङ लामा रहेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उनी यसअघि २०७३ पुस १३ मा काठमाडौँको कलङ्कीबाट ७ किलो सुनसहित पक्राउ परेर ५ वर्ष जेल सजाय भुक्तान गरी २०७८ सालमा रिहा भएको प्रहरीको अभिलेखले देखाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको टाेखा नगरपालिका-२, झोरबाट सोमबार साँझ सो रकमसहित पक्राउ गरेको थियो ।
उनलाई ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाई रकम लुकाएर चीनको केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । उनीबाट युरो र अमेरिकी डलर गरी २५ करोड १९ लाख २५ हजार ९ सय ५० नेपाली रुपैयाँ बराबरकाे रकम बरामद भएको हो ।
प्रहरीका अनुसार उनलाई केरुङबाट दुई जनाले उक्त रकम केरुङसम्म लगिदिन भनेका थिए ।
भिडिओ-
FACEBOOK COMMENTS