काठमाडौं । काठमाडौंको सतुङ्गलमा मनकामना हार्डवयरको आउटलेट सञ्चालनमा ल्याइएको छ ।
निर्माण सामग्रीको एकीकृत सेवा प्रदान गर्ने उद्देश्यसहित चन्द्रागिरी नगरपालिका–११, सतुङ्गलमा मनकामना हार्डवयर एण्ड सप्लायर्स प्रालिको आउटलेट सञ्चालनमा ल्याइएको हो ।
हिजो बुधबार आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले सो आउटलेटको औपचारिक उद्घाटन गरे । नेपालकै सबैभन्दा ठूलो हार्डवयरमध्ये एक मानिने यस कम्पनीले सम्पूर्ण निर्माण सामग्री एकै स्थानमा उपलब्ध गराउने लक्ष्य राखेको जानकारी दिएको छ ।
यस हार्डवयरमार्फत काठमाडौं उपत्यकाका डिलर तथा उपभोक्तालाई आवश्यक सामग्री सहज रूपमा वितरण गरिने सहसञ्चालक रोशन पाठकले जानकारी दिए । उनका अनुसार मनकामना हार्डवयर एण्ड सप्लायर्सले घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री जस्तैः जस्ता, डण्डी, एंगल, बिम, सिमेन्ट लगायतका सामान उपलब्ध गराउनेछ । हार्डवयर व्यवसायीहरूले कम्पनीकै मूल्यमा सामग्री खरिद गरी उपभोक्तालाई सहज रूपमा वितरण गर्न सक्ने पाठकको भनाइ छ ।
विशेषगरी, निर्माण सामग्री खरिद गर्दा ठूलो लगानी आवश्यक पर्ने व्यवसायीहरूका लागि मनकामना हार्डवयरले सहज व्यवस्था गर्ने बताइएको छ ।
सात रोपनी क्षेत्रफलमा फैलिएको यो हार्डवयर कम्पनी पाँच जना साझेदारहरूको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । सम्पूर्ण निर्माण सामग्री व्यवसायीले कम्पनीबाटै सिधै सामग्री खरिद गर्दा २ देखि ३ करोड रुपैयाँसम्मको लगानी गरेर भण्डारण गर्नुपर्ने हुन्छ । व्यवसायीको उक्त लगानी मनकामना हार्डवयरले नै गरिदिने सहसंचालक पाठकको दाबी छ ।
उपभोक्ताले आवश्यक पर्ने सामग्री बिक्रेताले मनकामना हार्डवयरमार्फत सिधै डेलिभरी गर्न सक्नेछन् । यस हार्डवयरले निर्माण व्यवसायलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । व्यवसायी तथा उपभोक्ताहरूलाई गुणस्तरीय निर्माण सामग्री सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित कम्पनी अगाडि बढेको छ ।
मुख्य कार्यालय बनेपाबाट सो क्षेत्रसहित भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ र काठमाडौंको थली क्षेत्रमा व्यापार गर्दै आएको छ ।
FACEBOOK COMMENTS