काठमाडौँ । नेपालको ग्रामीण क्षेत्रका बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धि चेतना फैलाउन मानसिक स्वास्थ्यसम्बन्धि सेमिनार सम्पन्न भएको छ । मानसी थेरापी (कोलकाता, भारत) र चेरिश नेपाल फाउन्डेसनको सहकार्यमा सो सेमिनार सम्पन्न भएको हो ।
फाउन्डेसनले मालपुर माध्यमिक विद्यालय (सौराहा, चितवन) र श्री जनजीवन विद्यालय (माडी, चितवन) गरी दुई फरक विद्यालयको भ्रमण गरेको थियो । सेमिनारमा मनोवैज्ञानिकको टोलीले एक सयभन्दा बढी विद्यार्थीलाई मानसिक स्वास्थ्यबारे सम्बोधन गरेको थियो ।
मानिसहरूमा हुने नकारात्मक सोचाइलाई दक्ष प्रशिक्षकद्वारा प्रदान गरिएको परामर्शले चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्न मदत गर्ने मनोवैज्ञानिक परामर्शदाता शिवानी शक्रानीको भनाइ छ ।
थेरापी वा काउन्सिलिङको उद्देश्य मानसिक स्वास्थ्यसँग सम्बन्धित चिन्ता, डिप्रेसन, तनाव, मनोवैज्ञानिक विकारहरू, तिनीहरूको जीवनका विभिन्न पक्षहरू (व्यक्तिगत र व्यावसायिक दुवै) मा समस्याहरूबाट गुज्रिरहेका मानिसहरूलाई सहयोग गर्नु रहेको अर्की मनोवैज्ञानिक परामर्शदाता तारिका मोदिको भनाई छ । व्यवसायिक ढंगबाट मानसिक स्वस्थता कायम राख्नु र सुधार गर्नु आवश्यक रहेको उनले बताइन् ।
FACEBOOK COMMENTS