हाम्रो दैनिक खानपान र फरक जीवनशैलीका कारण पछिल्लो समय अधिकांश मानिसहरू कुनै न कुनै रोगबाट ग्रसित बन्ने क्रम बढ्दो छ । शरीरमा केही समस्या देखियो वा असहज महसुस भयो भने उपलब्ध भएसम्म हामी अस्पताल पुगिहाल्छौँ । अस्पतालले आफ्नो प्रक्रिया अनुसार बिरामीको स्वास्थ्यवस्था ठिकठाक पार्न जाँच तथा उपचार गर्छ । अस्पतालको उपचारबाट अधिकांश बिरामी स्वास्थ्यलाभ गरेर फर्किन्छन् भने केही बिरामीले ज्यान पनि गुमाइरहेका छन् । जब बिरामीले उपचारका क्रममा ज्यान गुमाउँछ त्यसपछि अस्पताल र डाक्टरको लापर्बाही भनेर आफन्तहरू आवेशमा आउने गर्छन् । त्यही आवेशले बिरामीको मृत्युका अलावा अरु अनेक क्षति समेत गरिरहेको हुन्छ ।
अस्पतालमा बिरामीको मृत्युमा अस्पताल वा डाक्टरको लापरबाही कति हुन्छ ? साच्चै उनीहरू लापर्बाहीको हदसम्म जान्छन् ? यदि जाँदैनन् भने सामान्य अवस्थाका बिरामीको समेत उपचारका क्रममा किन मृत्यु हुन्छ ? यी विषयहरूबारे हामीले कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठसँग केही जान्ने प्रयत्न गरेका छौँ । प्रस्तुत छ, कर्पोरेट खबरका साइराम उपरकोटीले प्रमुख जनसम्पर्क अधिकृत श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश–
भारतको मातहतमा रहेको मणिपाल शिक्षण अस्पताल अहिले नेपालको स्वामित्वमा छ । यो अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी दिनुहोस् न ?
स्थापना कालदेखि यो भारतको मातहतमा थियो । केही वर्षअघि मात्र नेपालीको स्वामित्वमा आएको हो । सञ्चालक समितका अध्यक्ष आनन्दराज बतासज्यूले स्वास्थ्य क्षेत्रमा केही गरौँ भनेर सञ्चालनमा ल्याउनु भएको छ । उहाँको सपना भनेको स्वास्थ्य क्षेत्रको नयाँ आयाम र सुविधा सम्पन्न सेवा सुविधा दिन्छु भन्ने नै हो । गण्डकी प्रदेशको मात्र नभएर देशकै ठूलो हस्पिटलको रूपमा चिनाउने उहाँको सपना हामी पाउँछौँ । यो हस्पिटलले मुनाफालाई मात्र प्राथमिकता दिएको छैन । अस्पतालले आफ्ना लाभग्राही कसरी खुसी हुन्छन् भन्ने कुरामा नै केन्द्रित रहेर आफ्ना सेवाहरू प्रवाह गरिरहेको छ । स्वास्थ्य क्षेत्रको नयाँ आयामका रूपमा हामीले प्रविधियुक्त र सुविधायुक्त हस्पिटलका रूपमा यसलाई विकास गर्दै लगेका छौँ ।
अस्पतालले अहिले के–कस्ता सेवासुविधा उपलब्ध गराउँदै आएको छ ?
सामाजिक उत्तरदायित्व वहन गर्ने विभिन्न सहयोग र औषधि वितरण पनि गर्दै आएको छ । नेपाल सरकारका निकायहरूमा दर्ता भएका जति पनि संघसंस्थाहरू छन् । तिनीहरूलाई लक्षित गरी अस्पतालले विभिन्न वर्गका स्किमहरू पनि ल्याएको छ । जुन स्किमका आधारमा रजिष्ट्रेसन गर्दा १०० प्रतिशत छुट, जनरल बेडमा २५ प्रतिशत एमआरआई र सिटिसक्यानमा १० देखि १५ प्रतिशतसम्म र अपरेशन गर्दा विशेष छुट उहाँहरूले पाइरहनुभएको छ । एक हिसाबले भन्ने हो भने फ्री डक्टर कन्सल्टेन्ट जस्तो सेवा सुविधा दिएका छौँ । सुरूमा जुन अवस्था थियो तर बीचमा सेवामा कमी आएको भन्ने थियो । तर, हामी फेरि पुरानै सेवा सुविधा दिनुपर्छ भन्नेतिर नै लागि परेका छौँ । भौतिक संरचनामा मात्र सुधार होइन सेवा पनि आवश्यक सुधार गर्दै छौँ र प्रविधियुक्त बनाउँदै छौँ । पोखराका मानिसहरू मुटु र नसासम्बन्धी रोगको उपचार गर्ने अन्य ठाउँ जान नपर्ने बनाउँदै छौँ ।
तपाईं जनसम्पर्क प्रमुख हुनहुन्छ, बिरामीसँग कत्तिको सुझाव लिने गर्नुभएको छ ?
हामीले हस्पिटलको विभिन्न स्थानमा २५ वटा सुझाव पेटिका राखेका छौँ । र हरेक हप्ता यो हेरेर कमी कमजोरीहरूको समाधान गर्ने काम गर्दै आएका छौँ । हामी आफैँले पनि अनुभव गरेर परिवर्तन गर्दै आएका पनि छौँ ।
मणिपालमा धरै नै विवादका कुराहरू बाहिर आउँछन् किन त ?
पुरानो व्यवस्थापनमा त्यस्तो थियो । नेपालीहरूले स्वामित्व लिएपछि पनि कर्मचारीहरूको आन्दोलन थियो । हाम्रो नयाँ व्यवस्थापन आएपछि हामीले कर्मचारीको आन्दोलनका मागहरू पूरा गरेर अगाडि बढेका छौँ । हामीले अहिले आन्दोलन हुन नदिने र आन्दोलन भइहाले त्यसको समाधान छिट्टै गर्नेतिर लागेका छौँ । तपाइँले भन्नुभएजस्तो समस्या यहाँ अहिले छैन ।
यो त हस्पिटलको विवाद हो । तर, बिरामीका विवादहरू पनि धेरै सुनिन्छन् । केही महिनाअघि मात्र बिरामीको मृत्युको कुराले यहाँ तनाव भएको होइन र ?
हस्पिटलमा बिरामीको मृत्यु भयो । सामान्यतया हेर्ने हो भने जन्म पनि हस्पिटलमा हुन्छ र मृत्यु पनि हस्पिटलमा हुन्छ । बिरामी बाहिर उपचार गर्नै नसकेर गम्भीर रूपमा ल्याइएको थियो । हामीले प्रयास गर्ने र उपचार गर्ने क्रममा मृत्यु भएको हो । उहाँहरूले यसले गर्दा आवेगमा डाक्टर माथि हातपात भएकाले तनाव सृजना भएको हो । सकभर बचाउन खोज्ने हो । लापरबाहीपूर्ण तरिकाबाट एउटा डाक्टरले कहिल्यै पनि बिरामीको उपचार उपचार गर्दैन । तर, उहाँहरूलाई त्यस्तो लागेर यस्तो गर्नु भएको हो । तर, डाक्टरले बिरामीलाई सकभर बचाउन नै खोज्छ । यो जानाजानी र लापरबाहीको कारणले कसैको मृत्यु हुन्छ भने संस्था वा चिकित्सक जो दोषी हो उसलाई कारबाही गर्नुपर्छ । लापरबाहीबिना उपचार गर्दा गर्दै कसैको निधन हुन्छ भने त्यो काम गर्नु गलत हो ।
तपाईँ जनसम्पर्क प्रमुख हुँदा घटना भयो, समाधान कसरी गर्नुभयो ?
अब आफ्नो आफन्तको मृत्यु हुँदा आवेगमा आउनु स्वाभाविक हो । के कसरी घटना भएको बनेर जानकारी पाउनुपर्ने उहाँहरूको अधिकार हो । जान्न पाउनुपर्छ । त्यसको बारेमा बुझाउने काम डाक्टरको हो र त्यो गर्नुपर्छ । यो सबै गरेर हामीले उहाँहरूलाई कन्भिन्स गरेका थियौँ । उहाँहरूले हामीलाई शव वाहन मिलाइदिनु टाढा लानुपर्छ भन्नुभएको थियो । तर, केही अराजक व्यक्तिको संलग्नले गर्दा त्यो अवस्था सृजना भएको हो । नभए तनाव सृजना हुने थिएन ।
मणिपाल अस्पतालको जनसम्पर्क केन्द्रले के कसरी काम गर्दै आएको छ ?
कुनै पनि संस्थालाई राम्रोसँग सञ्चालन गर्ने जनसम्पर्क केन्द्र वा व्यक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ । स्थानीय संस्था, प्रहरी, समुदाय र समाजमा खेल्नुपर्ने भूमिका राम्रैसँग निर्वाह गरेको छ । व्यक्तिगत रूपमा भन्ने हो भने पनि म जनसम्पर्कको प्रमुख भएर सधैँ जनता र सेवाग्राहीको भूमिकामा नै केन्द्रित भइरहेको छ । कसैले स्वास्थ्य समस्याका कारण दु:ख भोग्नु नपरोस् भन्ने नै हो । ठाउँ–ठाउँमा गएर स्वास्थ्य शिविर पनि सञ्चालनमा ल्याएका छौँ । यो हस्पिटलको धेरै संरचनादेखि लिएर हरेका चिजहरूको परिवर्तन भएको छ । हामीले दिनुपर्ने सेवा सुविधाहरू सबै दिएका छौँ । हामीले सामाजिक सुरक्षा कोष, भूपू आर्मी, बीमाको सेवा सुविधा दिएका छौँ । हामीले यसका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरेका छौँ । स्वास्थ्य शिविरहरू पनि नि:शुल्क सञ्चालनमा ल्याएका छौँ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
हाम्रो स्रोत र साधनले भ्याएसम्म र हामीले दिन सक्ने सेवा सुविधाहरू सेवाग्राहीलाई दिएका छौँ । राष्ट्रको सेवाका लागि मणिपालले धेरै सोचेको छ । कसरी कुन तरिकाले आफ्ना ग्राहकलाई बढी भन्दा बढी सेवा सुविधा दिन सकिन्छ भन्नेमा नै लागेका छौँ । मणिपाल आएपछि जुनसुकै रोगको पनि सफल उपचार हुन्छ भन्ने पहिचान बनाउने बाटोमा हामी छौँ । त्यसका केही दृष्टान्तहरू त हामीले दिइसकेका पनि छौँ ।
थप कुराकानी भिडिओमा हेर्नुहोस्–
FACEBOOK COMMENTS