काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार बिहान भेटवार्ता गरेका छन्। भण्डारीको भंगालस्थित निवासमा झा र भण्डारीबीच करिब डेढ घण्टा लामो छलफल भएको हो।
भेटलाई झाले राजनीतिक शिष्टाचारको सुरुआतको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार भेटमा कुनै विशेष एजेन्डा थिएन, तर वर्तमान राजनीतिक अवस्था र त्यसको समाधानका सम्भावनाबारे गम्भीर संवाद भएको थियो।
भेटपछि झाले जानकारी दिएअनुसार, पूर्वराष्ट्रपति भण्डारीले मुलुकको असामान्य राजनीतिक अवस्थाप्रति चासो व्यक्त गर्दै यसको समाधानका लागि सक्रिय पहल आवश्यक रहेको धारणा राखेकी थिइन्। उनले सहकारी प्रकरणलाई समाधान गर्नेभन्दा पनि अनावश्यक रूपमा राजनीतिक मुद्दा बनाइएकोमा सरोकार व्यक्त गर्दै, रास्वपा अध्यक्ष रवि लामिछानेप्रति सद्भाव रहेको संकेत दिएको झाले बताए।
भेटमा भण्डारीले नयाँ पुस्ताको राजनीतिमा प्रवेश स्वागतयोग्य रहेको भन्दै त्यसलाई सघाउन आफू अभिभावकको भूमिकामा तयार रहेको धारणा व्यक्त गरेकी थिइन्। उनले नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बेला आएको भन्दै आवश्यक परेमा मार्गदर्शन गर्न आफू तत्पर रहेको संकेत दिएकी थिइन्।
यो भेट अनौपचारिक भए पनि, पूर्वराष्ट्रपति भण्डारीले अझै पनि देशको समसामयिक राजनीतिक मामिलाप्रति चासो राखिरहेकी छन् र नयाँ राजनीतिक शक्तिसँग संवाद गर्न तयार रहेको सन्देश दिएको देखिन्छ।
FACEBOOK COMMENTS