काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पछिल्लो समय हुँदै आएका मनोमानीहरूमाथि सर्वोच्च अदालतले लगाम लगाएको छ ।
अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीबाट हुँदै आएको ‘दादागिरी’ शैलीको मनोमानीविरुद्ध डा. अरुण मास्केले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले उनको गैरकानुनी हर्कतहरूमाथि लगाम लगाएको हो ।
डा. मास्केले आफूलाई अस्पतालका कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५८ विपरीत ६० वर्षमै अनिवार्य अवकाश दिएर विरामीहरूको उपचार प्रभावित गराएको भन्दै अस्पताल र अस्पतालका निर्देशक डा. अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर डा. मास्केलाई नियमित काममा फर्किने वातावरण बनाएको हो ।
अदालतले डा. मास्केको अनिवार्य अवकाशको उमेरहद ६३ वर्ष भएकाले अहिले नै अवकाश दिन नमिल्ने पनि स्पष्ट गरेको छ । ‘निवेदक विशेषज्ञ चिकित्सक भएको र निजको अवकाश उमेरहद ६३ वर्ष नै कायम रहेको मान्नुपर्ने हुँदा निज निवेदक डा. अरुण मास्केलाई ६० वर्ष पूरा गरेकोले मिति २०८०/०६/१६ को पत्र यस निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू/नगराउनू र निजलाई यथावत कामकाज गर्न दिनु/दिलाउनु भनी प्रत्यर्थीहरूका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ । यस्तै, अदालतले लोक सेवा आयोगले गंगालालको विशेषज्ञ चिकित्सक समेतको सेवा, शर्त र सुविधासम्बन्धी परामर्श २०७८/०७/२३ मा प्राप्त भएकोमा यसै अदालतमा विचाराधीन मुद्दा तत्पश्चात दर्ता भएको स्मरण समेत गराएको छ ।
आफूलाई सहित गंगालाल हृदय केन्द्रको अवकाश दिनेगरी मिति असोज १६ गते थमाइएको अवकाशको पत्र नेपालको संविधानको धारा १७ (२) (च), १८(१), २५(१) द्वारा प्रदत्त संवैधानिक हक एवम् सहित गंगालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५८ को नियम १०(१) को उपनियम ३ मा २०७९ साउन २१ गते भएको संसोधनबाट स्थापित कानुनी हक समेतको विपरीत रहेको डा. मास्केको दाबी थियो ।
सर्वोच्च अदालतको यो आदेशले आफ्नो बदनीयतपूर्ण हर्कतमाथि लगाम लगाएपछि यतिबेला अस्पतालमा निर्देशक डा. अधिकारी भने रनभुल्लमा परेका छन् । उनको गलत र मनोमानीपूर्ण निर्णयका कारण यो बीचमा धेरै बिरामीहरूले उपचार पाउनबाट समेत वञ्चित बनेका छन् । उपचारमा संलग्न हुनुपर्ने डाक्टर आफ्नो अधिकारको खोजीमा अदालतको ढोका ढकढक्याउन जाँदा बिरामीहरू नियमित उपचार पाउनबाट वञ्चित भएका हुन् ।
मुटु रोगसम्बन्धी डाक्टरहरूले निकै दु:ख र मेहनतका साथ स्थापना गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पछिल्लो समय डा. चन्द्रमणि अधिकारीको व्यक्तिगत मनोमानी तथा कानुन र अस्पताल सञ्चालक समितिको निर्णय समेत नमान्ने ‘दादागिरी’ शैलीको व्यवहारका कारण तहसनहसको अवस्थामा पुगेको छ । यस सम्बन्धमा कर्पोरेट खबरले बारम्बार खबरदारी समेत गर्दै आएको थियो ।
उनको अस्वाभाविक कार्यशैलीबाट त्यहाँ कार्यरत प्रशासनिक तथा प्राविधिक कर्मचारीहरू आजित भएको बताउँछन् । आफ्नो व्यक्तिगत रिसिबी समेत प्रदर्शन गर्ने गरेका उनले गत १६ गते बिरामी जाँचिरहेका डा. मास्केको हातमा अनिवार्य अवकाशको पत्र थमाएका थिए । डा. अधिकारीले अवकाशको पत्र थमाउँदा डा. मास्केले आउँदो एक महिनासम्म बिरामी जाँच्ने र शल्यक्रिया गर्नेलगायत अनेकन समयतालिका निर्धारण गरिसकेका थिए । तर, निर्देशक अधिकारीले भने ती सबै कुरालाई बेवास्ता गरेर अस्पताल आउने बिरामीहरूको अधिकार उनीहरूमाथिको मानवता समेत नदेखाएर मास्केमाथि अवकाशको पत्र थमाएर आफ्नो अशली रूप देखाएका थिए ।
‘म प्रविधिक डाक्टर हो, मैले छाड्नै परे पनि मिरामीमाथि खेलवाड गर्न मिल्दैन । म यहाँबाट निस्के पनि केही समय बिरामीको बारेमा अरू डाक्टरलाई सम्पूर्ण रिपोर्ट देनु पर्ने हुन्छ,’ डा. मास्केले भने, ‘तर, उहाँले मानवीय समवेदनाहीनताको पराकाष्टा दर्शाउनुभयो । उहाँको निर्णयबाट मलाई भन्दा पनि मेरा बिरामीहरूप्रति परेको असुविधाबाट म अत्यन्तै दु:खी भएको छु ।’ बिरामीहरू अस्पतालमा रुँदै डक्टर मास्केलाई कुरीरहँदा उनी भने आफ्नो अधिकार खोज्दै कानुनी उपचारका निम्ति सर्वोच अदालतको ढोकामा पुगेका छन् । फलस्वरुप अदालतले पनि डा. मास्के र उनका बिरामीलाई तत्काललाई न्याय दिएको हो ।
मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुन:स्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरूपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने मुल उद्देश्य लिइ २०५२ सालमा स्थापना भएको अस्पताल अहिले राजनीतिक भर्ती केन्द्र समेत बनेको छ । जसका कारण निर्देशक अधिकारीको दादागिरी बढेको अनुमान गर्न सकिन्छ । निर्देशक अधिकारीले बोर्ड बैठकको निर्णय नै नमान्नेदेखि आफूखुसी ठेक्का लगाउनेसम्मका काम एक्लै गर्ने गरेका छन् ।
आफ्नो मनोमानीमा बाधक बनेको महसुस गरी उनले पहिला डा. रवि मल्ल र त्यसपछि डा. अरुण मास्केलाई हटाउने प्रयत्न गरेका हुन् । निर्देशक अधिकारीका लागि आफ्नो मनोमानीमा यी दुईजना डाक्टर तगारोझैं बनेका छन् । जबसम्म यी दुई सिनियर डाक्टर रहन्छ तबसम्म गंगालालमा आफू अनुसारको ठेक्का–पट्टा लगाउन नसक्ने भएकाले जसरी पनि यी दुई जना डाक्टरलाई वर्हिगमन गराउन तल्लिन छन् । अधिकारीले बोर्डको निर्णयलाई कुल्चिँदै डा. रवि मल्ललाई पनि अवकाश दिए थिए ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मल्ललाई ६३ वर्षको उमेरसम्म कामकाज गर्न दिने गंगालाको बोर्ड बैठकको निर्णयलाई नै मान्यता दिने भन्ने आदेश दिएपछि अधिकारीले मल्ललाई काम गर्न त दिए तर सेवा सुविधाबाट वञ्चित गरेर राखेका छन् ।
२०७९ साल असारमा बसेको बोर्ड बैठकले केन्द्रको नियमावली संशोधन गर्दै सेवामा प्रशासनिक कर्मचारीको हकमा ६० वर्ष र प्राविधिक विशेषज्ञ चिकित्सकहरूका लागि ६३ वर्ष कायम गरिएको थियो । एउटै प्रकृतिको अवकास दिन नमिल्ने पत्र हुँदाहुँदै निर्देशक अधिकारीले डा. अरुण मास्केमाथि पनि अवकास पत्र थमाएका हुन् ।
अधिकारीसँग कर्पोरेट खबरले यस विषयमा सम्पर्क गर्न खोज्दा कहिल्यै सम्पर्कमा आउन चाहेनन् । स्वास्थ्य मन्त्रालयको कुरा समते सुन्न छाडेर उनी अराजकताको पराकाष्टा बनेको अस्पताल स्रोत बताउँछ । उनको यो अराजक व्यहारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भविष्य कता जाने हो भनेर त्यहाँका डाक्टरहरू अहिले चिन्तित बनेका छन् । उनले बेला बेलामा बाबाहरू समेत अस्पतालमा ल्याएर विज्ञानलाई चुनौती दिँदै टुनामुना समेत गर्ने गरेको अस्पताल स्रोत बताउँछ ।
FACEBOOK COMMENTS