काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर समन्वय भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिंदै मन्त्री पाण्डेले विमानस्थल सञ्चालनका लागि आवश्यक कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय उडान विस्तारका लागि विभिन्न प्रकारका सहुलियतहरू प्रदान गरिएको छ जसले उडान सङ्ख्या वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ। हाल हिमालयन एयरलाइन्समार्फत पोखरा–ल्हासा मार्गमा नियमित उडान भइरहेको र अन्य विमान सेवा प्रदायकहरूसँग समेत समन्वय तथा छलफल जारी रहेको उनले बताए ।
यस अवसरमा मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत र संस्थागत सुधारलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे। ‘वर्तमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने, रणनीतिक साझेदार भित्र्याएर सञ्चालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पहरूमाथि विस्तृत अध्ययन भइरहेको छ,’ मन्त्री पाण्डेको भनाइ थियो ।

पर्यटन क्षेत्रसँग जोडिएको हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन पनि मन्त्रालयले उच्च प्राथमिकता दिएको उनले बताए। हालसम्म नेपाल सरकारले ४७२ वटा हिमाल आरोहणका लागि खुला गरिसकेको र तिनको प्रचार–प्रसार तथा प्रवर्द्धनका काम तीव्र रूपमा भइरहेको उनको भनाइ थियो। साथै ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको आधारभूत जानकारी समेटिएको पुस्तिका प्रकाशन गरी सूचना प्रवाहलाई अझ प्रभावकारी बनाइएको जानकारी पनि मन्त्री पाण्डेले दिए ।


FACEBOOK COMMENTS