काठमाडौं । केही दिनयता उपत्यकामा दिन–प्रतिदिन चिसो बढ्दै गएको छ । बढ्दो चिसोसँगै तराईमा शीतलहर देखिन थालेको छ । उच्च पहाडी क्षेत्र र हिमाली भेगमा भने हिमपातले जनजीवन प्रभावित भएको छ ।
चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ । तर चिसोका कारण प्रायः मानिसहरूलाई रुघाखोकी तथा भाइरल ज्वरोको समस्या देखिएकाले चिसोबाट बच्न सरकारले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।
अहिले कोभिडपछि अधिकांश विद्यालय खुलेका छन् । लामो समय घरमा बसेका विद्यार्थीहरुका लागि विद्यालयको वातावरण त्यति सहज नहुन सक्छ । विद्यार्थीहरुको खानपिन नमिल्न सक्छ । सामाजिक दुरि कायम राख्न सक्दैनन् जसले गर्दा विद्यालयमा एक जना बिरामी भएको छ भने उसँग सम्पर्कमा आएका सबैलाई सर्न सक्छ । त्यसैले पनि अहिले विद्यालय जाने बालबालिकाको स्वास्थ्यमा अभिभावले विशेष ध्यान दिनुपर्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट बच्न विभिन्न उपायहरू अपनाउन निर्देशन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार चिसोबाट बच्न र शरीरलाई न्यानो बनाउन शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउनुपर्ने , बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरुले घरबाट बाहिर ननिस्कि न्यानो भएर कोठामा बस्नुपर्ने र तातो तथा पोसिलो झोलपदार्थहरु प्रशस्त मात्रामा सेवन गर्नुपर्ने बताएको छ । स्वास्थ्यसम्बन्धी कुनै समस्या ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, प्यारघ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
त्यसैगरि कोठालाई न्यानो बनाउन भन्दै हावा आवतजवावत हुन नसक्ने गरि झ्याल ढोका बन्द गरेर सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट आदि बालेर सुत्नाले विभिन्न दुर्घटना भई मृत्युृ समेत हुनसक्ने भएकाले त्यस्तो गल्ति नगर्न आग्रह पनि गरेको छ ।
नेपालमा प्रत्येक वर्ष हिउँद तथा जाडो मौसममा स्वास्थ्यमा देखिने प्रमुख समस्या निमोनियाँ लगायत छातीको संक्रमण हो । यसले हरेक वर्ष पाँच वर्षमुनिका ५ हजार ६ सय बालबालिकाको ज्यान जोखिममा पार्नुका साथै ज्यानै जाने गरेको छ । त्यसैले रुघाखोकीबाट जोगाउन ६ महिना पूरा भइसकेका बालबालिकालाई इन्फ्लुएन्जा भ्याक्सिन र निमोनियाँबाट जोगाउन निमोकोकल भ्याक्सिन लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध रहेको छ ।
FACEBOOK COMMENTS