काठमाडाैं । माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी सरकार निर्माणमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । माओवादीका कोषाध्यक्ष श्रीराम ढकालका अनुसार आजको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
पदाधिकारी बैठकको निर्णयबारे जानकारी दिँदै ढकालले भने, ‘अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ ।’
त्यस्तै माओवादीका महासचिव देव गुरुङले पनि चुनावपछि सरकार निर्माणका लागि अहिलेको सत्ता गठबन्धनको विकल्प खोजीनसकेको बताएका छन् ।
यही गठबन्धनको सरकार बनाउन आफूहरूको प्राथमिकता रहेको उनको भनाइ छ ।
गुरुङले पदाधिकारी बैठकमा चुनावी समीक्षा र आगामी सरकार निर्माणबारे छलफल भएको जानकारी दिए । अहिलेको गठबन्धनको विकल्प आफूहरूले खोजीनसकेको उनको भनाइ छ । ‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन । आपसी समझदारीलाई जोड दिने हो । अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौँ । गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं,’ गुरुङले बैठकपछि भने, ‘माओवादीसहितको गठबन्धन भएकाले पहिला गठबन्धन घटकहरूबीच कुराकानी हुने कुरा भयो ।’
गठबन्धनमा असहमति पैदा भएको अवस्था सिर्जना नभएकाले पहिलो गठबन्धनमै रहेका दलहरूबीच छलफल हुने उनले बताए । यसअघि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकार निर्माणका लागि सबै विकल्प खुला राखेको जनाएका थिए ।
बैठकले गठबन्धन मूलभूत रूपमा सफल भएको निष्कर्ष निकालेको पनि गुरुङको भनाइ थियो । सोमबारका लागि गठबन्धनमा रहेका दलहरूको बैठक बोलाइएको पनि गुरुङको भनाइ थियो ।
FACEBOOK COMMENTS