काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ ।
सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले मङ्गलबार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधान अनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रियसभा तर्फका दलका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए। बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रुपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरुसँग पनि छलफल गर्न आग्रह गर्नुभएको पाण्डेले बताए ।
बैठकमा प्रधानमन्त्री दाहालले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेस लगायतका अन्य दल तथा सांसदहरुसँग पनि छलफल भएको जानकारी गराएका थिए । बैठकमा प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
FACEBOOK COMMENTS