काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्शनका हतियारहरू मानव र धर्तीको अस्तित्वका लागि खतरनाक चिज भएको बताएका छन् ।
पछिल्लो समय भयानक विनाश गर्नसक्ने क्षमताका ‘मास डिस्ट्रक्शन’ हतियारहरूको निर्माण र भण्डारण संसारका थुप्रै देशहरूले गरिरहेको चर्चा गर्दै उनले मानिस र धर्तीको अस्तित्वका लागि ती हतियारहरूले खतरा उत्पन्न गरिरहेको बताएका हुन् ।
‘आज मास डिस्ट्रक्शनका हतियारहरूको निर्माण र थुप्रो लगाउने काम भइरहेको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो,’ हिजो सोमबार बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित २६४९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसकारण यस्ता खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुुपर्दछ र त्यसका लागि काम गर्नुपर्दछ ।’
भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको तनावसम्बन्धी प्रसङ्गमा प्रधानमन्त्री ओलीले मासडिस्ट्रक्शन हतियारबारे आफ्नो धारणा व्यक्त गरेका हुन् । विश्व शान्तिका लागि बुद्धले दिएको उपदेश वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्ने निर्णय सबैका लागि खुसीको कुरा भएको चर्चा गरे ।
FACEBOOK COMMENTS