काठमाडौं । भारतको कोलकातास्थित एक होटेलमा भीषण आगो लाग्दा १४ जनाले ज्यान गुमाएका छन् ।
शहरको व्यस्त बडाबजार क्षेत्रमा रहेको एक होटेलमा आगो लाग्दा १४ जनाको मृत्यु भएको कोलकाताका प्रहरी आयुक्त मनोजकुमार वर्माले पुष्टि गरे ।
आगलागीको कारण पत्ता लागेको छैन र एक टोली गठन गरेर अनुसन्धान सुरु गरिएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानअनुसार बिजुलीको मिटर नजिकैबाट आगलागी सुरु भएको देखिन्छ ।
आगो निभाइसकिएको छ भने घटनास्थलबाट करिब एक दर्जन व्यक्तिहरूको सकुशल उद्धार गरिएको छ ।
प्रहरी आयुक्त वर्माले स्थानीय समयअनुसार मङ्गलबार राति ८:१५ बजे माछुवा इलाकामा रहेको ऋतुराज होटेलमा आगो लागेको बताए ।
प्रत्यक्षदर्शीहरूले बताएअनुसार आगोबाट बच्नका लागि थुप्रै जना झ्यालबाट हामफाल्न खोजेका थिए । चौथो तलाबाट हामफाल्दा दुई जना घाइते भएका छन् ।
FACEBOOK COMMENTS