टोकियो । उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी सुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा बहँदा सोमबार जापानभर तापक्रम एक्कासि बढेको मौसम निकायले जनाएको छ ।
होक्काइडोको मोम्बेत्सु सहरमा तापक्रम बढेर १७ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो ।
यसैबिच उत्तरी जापानको अकिता सहरमा पनि तापक्रम २० दशमलव १ डिग्री, मध्य जापानको कानाजावा सहरमा २१ दशमलव ८ डिग्री र मध्य टोकियोमा १६ दशमलव ५ डिग्री पुगेको छ। मङ्गलबार जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको छ ।
मौसम अधिकारीहरूले उत्तरी र पूर्वी जापानका फराकिला क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताएका छन् । एक्कासि तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने अधिक सम्भावना रहेकाले तल्लो क्षेत्रका मानिसहरूलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।
FACEBOOK COMMENTS