काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका सुशासनको नमुना स्थानीय तह बनेको छ । नगरपालिकाले ‘भ्रष्टाचारसरह’ मानिने बेरुजु तुलनात्मक रूपमा अत्यन्त कम गरेर वित्तीय अनुशासन र पारदर्शिताको उदाहरण प्रस्तुत गरेको हो ।
प्रचलित कानुनबमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर्याइएको कारोबार बेरुजु हो । यस्तो कारोबार ह्वात्तै घटाएर नगरपालिकाले सुशासनतर्फ अग्रसर रहेको विश्वसनीय प्रमाण पेस गरेको हो ।
हालै सार्वजनिक महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाको बेरुजु ०.१५ प्रतिशत अर्थात् २३ लाख ६७ हजार रुपैयाँमा सीमित भएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा तीन करोड ३३ लाख २६ हजार रुपैयाँ बेरुजु रहेको नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो रकम ८७ लाख २४ हजार रुपैयाँमा झारेको थियो । त्यसअघि नगरपालिकाको बेरुजु नौ करोड रुपैयाँसम्म थियो ।
हलेसी तुवाचुङ नगरपालिका दश स्थानीय तह रहेको खोटाङ जिल्लाको सबैभन्दा कम बेरुजु भएको नगरपालिका हो । यसका साथै बेरुजु कम हुनेमा कोशी प्रदेशका स्थानीय तहमध्ये तेस्रो तथा देशभरका सात सय ५३ स्थानीय तहमध्ये दशौँ स्थानमा परेको छ ।
संसद्सम्म चर्चा
नगरपालिकाले बेरुजु घटाएर सुशासनको नमुना प्रस्तुत गरेपछि यसले संसद्सम्म चर्चा पाएको छ । नगरपालिकाकी मेयर विमला राईलाई अब्बल महिला नेतृत्वको उदाहरणका रूपमा प्रस्तुत गर्न थालिएको हो ।
जनता समाजवादी पार्टीकी प्रतिनिधिसभा सांसद सुशीला श्रेष्ठले मेयर राईलाई बधाई दिएकी छन् ।
प्रतिनिधिसभाको आज मङ्गलबारको बैठकमा सांसद श्रेष्ठले राजनीतिमा महिलाहरूको महत्त्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै सुशासनमा गरेको कार्यका लागि मेयर राईलाई बधाई दिएकी हुन् ।
‘सबै नीतिको माउ नीति राजनीति हो । राजनीतिलाई सही दिशामा ल्याउन महिलाहरूको महत्त्वपूर्ण योगदान थियो, छ र रहिरहेको छ,’ उनले भनिन्, ‘खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले शून्य बेरुजु बनाएर काम गर्नुभएकोमा हार्दिक बधाई दिन चाहन्छु ।’
सुशासन कायम गर्न नसक्नेहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सांसद श्रेष्ठले ‘निर्णय गर्ने ठाउँमा काबिल महिलाहरूलाई पुर्याइयो भने देशले काँचुली फेर्छ’ भन्ने जनविश्वास बढेको बताइन् ।
आगामी निर्वाचनमा महिलाहरूलाई नेतृत्वमा पुर्याउने गरी महिलामैत्री निर्वाचन प्रणाली बनाउनुपर्नेमा उनले जोड दिइन् । यसका लागि तयार हुँदै गरेको एकीकृत निर्वाचन विधेयक, २०८१ छिट्टै आउनुपर्ने उनको धारणा छ ।
‘राजनीतिकलगायत निर्णय गर्ने ठाउँमा काबिल महिलाहरूलाई पुर्याइयो भने देशले काँचुली फेर्छ भन्ने समाजमा विश्वास बढेको छ,’ उनले भनिन्, ‘त्यसैले आगामी निर्वाचनमा महिलाहरूलाई निर्णय गर्ने ठाउँमा पुर्याउने गरी महिलामैत्री निर्वाचन प्रणाली बनाउने एकीकृत निर्वाचन विधेयक, २०८१ तयार हुँदै गरेको कुरा सुन्नमा आएको थियो । त्यो प्रक्रिया कहाँ के अवस्थामा रहेको छ ? २०८४ मा ‘महिला पहिला’ बन्ने परिस्थिति बनाउन उक्त विधेयक छिट्टै आओस् ।’
के भन्छिन् मेयर विमला राई ?
नगरपालिकाले आफ्ना सबै काम–कारबाही ऐन–कानुनभित्र रहेर गरिरहेको र त्यसैको फलस्वरूप बेरुजु कम भई सुशासनमा सफलता हात लागेको बताउँछिन्, मेयर विमला राई । यसको श्रेय नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरूलाई जाने उनले बताइन् ।
सुशासन, पारदर्शिता र मितव्ययिताको नीति अवलम्बन गरी विकासको रफ्तार बढाउँदै जाँदा सकारात्मक परिणाम प्राप्त भइरहेको उनले सुनाइन् ।
‘हामीले हरेक काम ऐन–कानुनअनुसार गरेका छौँ, बेरुजु घट्नु पनि यसैको उदाहरण हो,’ उनले भनिन्, ‘यसको श्रेय नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरूलाई जान्छ । हामी सबैको संयुक्त प्रयास र आपसी साथ–सहयोगले नै यो सम्भव भएको हो ।’
को हुन् विमला राई ?
पूर्वी पहाडी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी स्थानीय तहकी संस्थापक जनप्रतिनिधिसमेत हुन् । यसअघि उनी सोही नगरपालिकामा उपमेयरको भूमिकामा थिइन् । मेयरका रूपमा उनको यो पहिलो कार्यकाल हो ।
नेपाली कांग्रेसको कोशी प्रदेश समिति सदस्य तथा संसदीय बोर्ड सदस्यसमेत रहेकी राई नेपाल नगरपालिका सङ्घमा कोषाध्यक्षको जिम्मेवारीमा पनि छिन् ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट मेयरमा निर्वाचित भई नगरपालिकाको नेतृत्व सम्हालेको तीन वर्षमा उनले सुशासनका साथै विकास निर्माणका क्षेत्रमा पनि नगरपालिकालाई उल्लेख्य उपलब्धि दिलाउन सफल भएकी छन् ।
नगरपालिकाको उपमेयर रहँदादेखि नै उनको कार्यदक्षता र कुशलताको चर्चा र प्रशंसा हुँदै आएको छ । महिला जनप्रतिनिधि हुनाको नाताले महिला सशक्तीकरणमा उनको विशेष जोड रहँदै आएको छ । महिलाहरूलाई सीप सिकाएर स्वरोजगार तथा उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यलाई मेयर राईले विशेष प्राथमिकता दिँदै आएकी छन् ।
स्मरणीय छ, हलेसी तुवाचुङ नगरपालिका ‘पूर्वको पशुपतिनाथ’ भनेर चिनिने प्रसिद्ध त्रिधार्मिक (हिन्दु, किरात र बौद्ध) स्थल ‘हलेसी’ रहेको नगरपालिका हो । राई मेयरका रूपमा आएपछि हलेसीका साथै नगरपालिकामा रहेका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा पनि प्रशंसालायक काम भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका सुक्खाग्रस्त क्षेत्र हो । सो क्षेत्रका अधिकांश स्थानमा खानेपानीको अभाव रहेकामा मेयर राईले यस समस्यालाई प्राथमिकताका साथ समाधान गर्दै लगेकी छन् ।
भौतिक पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनका अलावा शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रमा पनि नगरपालिकाले फड्को मार्ने गरी काम गरिरहेको छ ।
FACEBOOK COMMENTS