पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका महावीर पुनलाई सडक तथा फुटपाथमा किताब नबेच्न आग्रह गरेका छन् ।
मेयर आचार्यले बुधबार सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै दर्ता वा आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने बताएका हुन् ।
उनले भनेका छन्– ’यहाँको देश र समाजप्रतिको समर्पण, सादगीपन र पवित्र उद्देश्यप्रति हामी सबैको उच्च सम्मान छ । नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभरि घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहनु भएको कार्य सराहनीय छ । वास्तवमा, तपाईंको अभियानलाई सहयोग गर्ने भावनाले नै धेरैले उत्साहपूर्वक पुस्तक खरिद गरिरहेका छन् ।
तर, बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ । पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवाल–जवाफ भएको देखिएको छ, जुन तपाईं जस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था होइन ।
आज तपाईं केवल महावीर पुन मात्र नभई देशले सम्मान गरेको एक आदरणीय व्यक्तित्व र सार्वजनिक नेतृत्वको स्थानमा हुनुहुन्छ । देशभर करिब १८ हजार पुस्तक व्यवसायी छन्, जो राज्यका विभिन्न निकायमा दर्ता भई लेखकहरूका पुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।’

उनले पछिल्ला दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा अनावश्यक सवाल–जवाफको अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । यस्तो अवस्था पुनजस्ता सम्मानित व्यक्तित्वलाई सुहाउने नदेखिएको उनको भनाइ छ । आचार्यले आवश्यकता परे पुस्तक व्यवसायी महासंघमार्फत उचित स्थान उपलब्ध गराएर पुस्तक बिक्री–वितरणमा सहजीकरण गर्न सकिने पनि बताएका छन्। स्टकमा रहेका पुस्तक महासंघमार्फत बिक्री गरेर भुक्तानी उपलब्ध गराउन पनि पहल गर्न सकिने उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्– ’यदि तपाईं पोखरा आउने समय दिनुहुन्छ भने, पुस्तक व्यवसायी महासंघमार्फत तपाईंलाई सहज र उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री–वितरणमा सहयोग गर्न सकिनेछ। यसले तपाईंको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिएका छौँ ।’

मेयर आचार्यले साथै हालसम्म कति पुस्तक बिक्री–वितरण भयो भन्ने विवरण सार्वजनिक गर्न सकिएमा पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्ने उल्लेख गर्दै पुनको अभियान र उद्देश्यप्रति हाम्रो उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको जानकारी गराएका छन् ।

उता महावीर पुनले भने सामाजिक सञ्जालमा फुर्सद भएकाले वीरगन्ज स्थित कृषि औजार कारखानाको पैसा जम्मा गर्न पुस्तक बेचेको भन्दै कसैलाई नरिसाउन आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS