काठमाडौ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेट गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
गृहमन्त्री लेखकले नेपाल र अमेरिकाबीच विगत ७० वर्षदेखि रहिआएको द्विपक्षीय सम्बन्ध सौहाद्र्रपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनजस्ता विषयमा दुवै देशको साझा धारणा रहेको बताए ।
नेपालको सामाजिक–आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको बताउँदै गृहमन्त्री लेखकले अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गरे ।
जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको र यस विषयमा नेपालको उच्च चासो र चिन्ता रहेको उल्लेख गर्दै उनले यस विषयमा समर्थन गर्न आग्रह गरे ।
नेपालको सामाजिक–आर्थिक विकासका विविध क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ इच्छुक रहेको उल्लेख गर्दै उनले नेपालको आर्थिक विकासमा एमसिसी परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
राजदूत थम्पसनले एससिसी परियोजना कार्यान्वयनमा नेपाल सरकारका तर्फबाट सधैँ सहयोग रहने आफूहरूको अपेक्षा रहेको उल्लेख गरे । उनले अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिकी सरकार तत्पर रहेको बताए ।
FACEBOOK COMMENTS