काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपालमा अमेरिकी सहयोग सम्झौता (एमसीसी) भित्र्याउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गरेका छन् ।
आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा वर्षामान पुन ‘अनन्त’ले एमसीसीको खाका तयार पारेको खुलासा गरेका हुन् । तत्कालीन प्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) शेरबहादुर देउवा र तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले संसदबाट पारित गर्न भनेर पछि मात्र हस्ताक्षर गरेको उनको जिकिर छ ।
‘नेपालमा एमसीसीको जग अरु कसैले नभई कांग्रेस र माओवादीले बसाएका हुन्,’ शाहीले भने, ‘तीनै प्रचण्डले कहिले एमसीसीको विरोध गर्छन् कहिले समर्थन गर्छन् । त्यस्तै एमालेले पनि हिजो सरकारमा हुँदा संसद्बाट पारित गर्न खोजेको थियो, आज विरोध गरिराखेको छ, यो नेताहरुको रङ भनेको छेपाराको रङ जस्तो हुने रैछ, हामी बुझ्नै सक्दैनौं ।’
देशका सबै जनता एमसीसीको विरुद्धमा हुँदाहुँदै पनि सरकारले पारित गर्न खोजेमा लोकतन्त्र र राज्यमाथिको अपमान हुने उनको भनाए छ । ‘नेपाली जनता एमसीसीविरुद्ध हुँदाहँुदै पनि एमसीसी पास गरे लोकतन्त्र र राज्यमाथिको अपमान हुनेछ । एमसीसी साँच्चिकै राष्ट्रघाती हो ।’ देशलाई एमसीसीबाट आउने ५५ अर्ब रुपैयाँ धेरै ठूलो रकम नभएको उनको भनाइ छ ।
पैसा नै चाहिएको भए नेपालमा भएका ठूला–ठूला घोटला र काण्डहरुको छानबिन गर्नुपर्ने शाहीको भनाइ छ । शाहीले ६२ अर्बको एनसेल, ओम्नी, वाइडबडीलगायत काण्डको अनुसन्धान गदाए एमसीसीबाट आउने भन्दा धेरै पैसा उठ्ने दाबी समेत गरेका छन् ।
त्यस्तै, विभिन्न सरकारी र संवैधानिक निकायका कर्मचारीको सम्पत्ति छानबिन गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन् । यदि संसद्बाट एमसीसी पारित गरेमा अहिलेका पुस्ताले भन्दा पनि आउने सन्ततिले दुःख पाउने उनको भनाइ थियो । जनताले भोट दिएकै कारण नेताहरुले आज देश बेच्न लागेको जिकिर उनले गरेका छन् ।
नेपालका सबै जनतालाई एमसीसीबारे सत्यतथ्य जानकारी दिनुपर्ने भन्दै उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्बाट एमसीसी सम्झौता हटाउन आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS