काठमाडौं । चालू संसद् अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सँग भएको सम्झौता अघि बढाउने अनुमान गरिए पनि तत्काल संसद्मा पेश हुने सम्भावना कम हुँदै गएको छ ।
दलहरूबीच मतभेद कायमै रहँदा एमसीसी अनुदान सम्झौता अघि बढ्ने सम्भावना तत्काललाई टर्दै गएको हो । मंगलवारदेखि शुरू भएको संसद्मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोधलाई निरन्तरता दियो ।
संसद्को हिउँदे अधिवेशनको बैठक शुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठक एमसीसीबारे ठोस निष्कर्षमा पुग्न सकेन । संसदीय दलको बैठकमा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे संसद्मा पेश भएपछि मात्रै धारणा बनाउने अडान लियो भने यसबारे खास छलफलै हुन सकेन ।
संसद्को हिउँदे अधिवेशन शुरू हुनुअघि बानेश्वरमा बसेको एमाले संसदीय दलको बैककमा अध्यक्ष केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङले सम्बोधन गरेका थिए । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार एमसीसी सदनमा टेबुल भएपछि मात्रै धारणा बनाउने सहमति बैठकमा भएको भट्टराईले जानकारी दिए ।
यता, नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले पनि एमसीसीबारे ठोस निर्णय लिन सकेन । संसद्को हिउँदे अधिवेशन शुरू हुनुअघि दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा पुष्पकमल दाहालले समसामयिक राजनीतिक विषयमा ‘ब्रिफिङ’ गरे । सांसद रेखा शर्माका अनुसार दाहालले अमेरिकी परियोजना एमसीसीबारे पनि धारणा राखेका थिए । उनका अनुसार दाहालले गठबन्धनमा सहमति नभई एमसीसी सदनमा पेस नै नहुने र संशोधनविना अनुमोदन पनि नहुने बताए । माओवादीले एमसीसीबारे पुरानै अडान दोहोर्याएको छ ।
‘एमसीसीबारे यसअघि स्थायी समितिले गरेको निर्णयकै निरन्तरता हो,’ शर्माले भनिन्, ‘सम्झौतामा रहेका राष्ट्रहितविपरीतका कुरामा संशोधन नभएसम्म माओवादी यसको विपक्षमा उभिन्छ ।’ अमेरिकाले एमसीसी छिटो अनुमोदन गर्न दबाब दिइरहेका बेला हिँउदे अधिवेशनमा एमसीसी पेश हुने ठानिए पनि नेपाली कांग्रेसभित्र एमसीसी अनुमोदन गर्नेबारे कुनै छलफलै नभएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS