काठमाडौं । पाल्पामा अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत बुटवल सबस्टेशनदेखि दमौली सबस्टेशन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले आज सूचना जारी गर्दै अधिग्रहण गरिने जग्गाको विवरण सार्वजनिक गरेको छ । सूचना अनुसार निस्दी गाउँपालिकाका ५, ६ र ७ नम्बर वडा तथा रामपुर नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा पर्ने जग्गा अधिग्रहणमा पर्नेछन् । ती जग्गाहरु आजैदेखि रोक्का भएका छन् ।
सार्वजनिक विवरणमा जग्गा, घरटहरासहित रुखविरुवा समेतको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । साथै, जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिने छ । तोकिएको म्याद भित्र निवेदन नदिई म्याद गुजारेमा कानुन बमोजिम हुने सूचनामा उल्लेख छ
FACEBOOK COMMENTS