काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । चार दिने नेपाल भ्रमणमा आएकी उनी एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न आएकी हुन् ।
काठमाडौं आएलगतै एमसीसी उपाध्यक्ष फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । एमसीसी कार्यान्वयनका लागि एमाले पार्टीको सहयोगका लागि ओली निवास बालकोट पुगेर एमसीसीबारे धारणा बुझेकी छन् । परियोजनाबारे ओली र एमसीसीका उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनाथन ब्रक्सलगायतसँग संवाद भएको ओलीको सचिवालयले जनाएको छ ।
भेटमा नेकपा एमाले अध्यक्ष ओलीले सरकारले एमसीसीबारे स्पष्ट कुरा गरेपछि एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । आफ्नो सरकारको पालामा एमसीसी अघि बढाउन प्रयास गर्दा विभिन्न शक्तिकेन्द्रले नदिएको ओलीलाई उद्धत गर्दै एमाले विदेश विभाग प्रमुख डा। राजन भट्टराईले बताए ।
एमसीसी प्रतिनिधिलाई ओलीले आफू प्रमुख प्रतिपक्षी दल भए पनि सरकारले सो परियोजनलाई अघि बढाउनेबारे छलफल नै नगरेको बताएका थिए । संसद्मा प्रमुख प्रतिपक्षको आवश्यकता महसुस नभएकाले पनि छलफल नगरेको हुन सक्ने भट्टराईले बताए ।
एमालले पछिल्लो समय एमसीसीको विरोध गरिरहेकाले एमसीसीकी उपाध्यक्ष फातिमाले पहिलो भेट एमाले अध्यक्ष ओलीसँग धारणा बुझ्न खोजेकी हुन् । बुधबारको एमाले संसदीय दलको बैठकमा पनि एमाले सांसदहरूले एमसीसी नेपालको हितमा नभएको निचोड थियो । तर, एमाले अध्यक्ष ओलीले सो बैठकमा एमसीसीको विषयमा अध्ययन गरेर मात्रै धारणा बनाउनुपर्ने बताएका थिए ।
बिहीबार नै एमसीसी उपाध्यक्ष फातिमाले नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग भेटेकी छन् । फातिमाले समाजवादी अध्यक्ष नेपालसँगको भेटमा पनि एमसीसी कार्यान्वयनका विषयमा सहयोग गर्न उनले आग्रह गरेकी छन् । भेटवार्तामा समाजवादी पार्टीले नेपाली जनता र राष्ट्रको हितभन्दा बाहिर गएर अघि बढ्न नसक्ने प्रस्ट पारेको एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले बताए । छलफलमा अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका पार्टीको प्रयास र प्रयत्न भनेको जनता र राष्ट्रहितमा हुनुपर्छ भन्ने रहेको माधव नेपाललाई उद्धृत गर्दै नेता गंगालाल तुलाधारले बताए ।
हाल सत्तारूढ दलका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसी संशोधन नभई पारित हुनु नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेस भने एमसीसी पारित हुनुपर्छ भन्न लाइनमा रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS