काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ ।
नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताएका हुन् ।
लुले अन्य मुलुकले पनि एमसिसी परियोजना माग गरेको बताउँदै नेपालले अनुमोदन नगरे अरूलाई नै दिने स्पष्ट पारेको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक मण्डलले नेपाललाई छनोट गरेको उल्लेख गर्दै यही डिसेम्बरसम्ममा अनुमोदन नभए फिर्ता लैजाने स्पष्ट पारेका थिए ।
जवाफमा दाहालले एमसिसी नलिने नभनेको स्पष्टीकरण दिँदै राष्ट्रिय सहमति जुटाएर सकारात्मक रूपमा अघि बढाउने बताएका थिए। उनले एमसिसीको पछिल्लो संशोधनले विवाद ल्याएको बताउँदै सबै दलसँग छलफल गरेर अघि बढ्ने स्पष्ट पारेको मल्लले जानकारी दिए।
सहायक विदेशमन्त्री लुले शुक्रबार नै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा लुले एमसिसी कार्यान्वयनबारे जिज्ञासा राखेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा अध्यक्ष ओलीले अहिले आफूहरू सरकारमा नरहेको र सरकारले यस विषयमा छलफल पनि नगरेकाले धारणा बनाइनसकेको बताएका थिए।
सरकारको धारणा आएपछि आफूहरूले पनि आफ्नो धारणा सार्वजनिक गर्ने ओलीको भनाइ थियो। अमेरिकाले जलवायु परिवर्तन, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्न चाहेको बताएको भट्टराईले जानकारी दिए।
सहायक विदेशमन्त्री लुले शुक्रबार दिउँसो परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेट गरेका छन्। खड्कासँगको भेटमा पनि लुले एमसिसी कार्यान्वयनका बारेमा जिज्ञासा राखेका थिए। उनले एमसिसी परियोजना नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण भएको बताउँदै यसको कार्यान्वयनमा जोड दिएका थिए ।
भेटमा लुले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनको शुभकामना सन्देश खड्कालाई सुनाएका थिए। ब्लिङकनले परस्पर हितका विषयमा परराष्ट्र मन्त्रालयसँग मिलेर काम गर्न चाहेको सन्देशमा उल्लेख गरेका छन्।
छलफलमा जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली मुलुकमा पर्ने भएकाले यसको प्रभाव रोक्न र आर्थिक सहायता जुटाउने लगायतका विषयमा छलफल भएको थियो। भेटमा दुई देशबीचमा उच्चस्तरीय भ्रमण,आर्थिक साझेदारी,जनताबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल भएको थियो।भेटमा मन्त्री खड्काले अमेरिकाले कोरोना महामारीविरुद्ध लड्न खोप तथा स्वास्थ्य सामग्री लगायतका महत्वपूर्ण सहयोग गरेको भन्दै आभार व्यक्त गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS