काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेभित्र व्यक्तिगत रुपमा विदेशबाट किनेर ल्याइएको वा आफन्तले पठाएका मोबाइल सेटहरु एमडीएमस प्रणालीमा दर्ता गर्न अन्तिम सूचना जारी गरेको छ ।
प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा पुस १५ देखि कार्यन्वयनमा आउने र त्यसभित्र दर्ता नभएका मोबाइल सेट नचल्ने जानकारी समेत दिएको छ ।
मोबाइल सेटको गैरकानूनी आयात, बिक्रिी वितरण तथा चोरी नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागु गर्न लागेको हो । चोरी भएका तथा हराएका मोबाइल सेटको बारेमा प्राधिकरणले यो प्रणाली यसअघि लागु गरेकोमा अब पुस १५ देखि सबैमा लागू हुने भएको छ ।
प्राधिकरणले विदेशबाट आउने नेपालीहरुले निजी प्रयोजनका लागि आफ्नो साथमा ल्याएका मोबाइल सेटहरुको आइएमइआइ नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन अनुसार प्रज्ञापनपत्र लिन भनेको छ । यस्तो प्रावधान एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा २०७९ भदौ महिनाभन्दा अगाडि प्रयोग नभएका मोबाइलको हकमा लागू गराएको हो ।
नियम अनुसार भन्सार घोषणा नभएका मोबाइल फोन सेट पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सन्चालनमा समेत रोक लगाइने भन्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्रसहित दर्ता गर्न भनेको छ । नेपालभित्रै मोबाइल खरिद गर्दा पनि उक्त सेट एमडीएमएस प्रणलाीमा दर्ता भए नभएको एकिन गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ ।
प्रधिकरणले जारी गरेकाे सूचना:
प्रकाशित मिति: २०७९/०९/०९
मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रुपमा लागू गरेको Mobile Device Management System (MDMS) २०७९ पौष १५ गते देखि पूर्ण रुपमा कार्यन्वयनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (MDMS प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्र भन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरुको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालय बाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुहुन अनुरोध छ। नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाईने हुदाँ व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्र सहित राहदानि/नागरीकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ।
नेपाल भित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गर्न सकिने हुदाँ सोही अनुरूप एकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्नुहुन समेत यसै सूचना द्वारा जानकारी गराईन्छ।
नेपाल दूरसञ्चार प्राधिकरण
जमल,काठमाडौँ।
फोन नं.: ५३५५४७४,५५३४७१७
वेबसाइटः www.nta.gov.np
ईमेलः info@nta.gov.np
याे पनि:
भदौ ३० बाट ‘एमडीएमएस’ लागु हुने, गैरकानुनी रुपमा भित्रिएका मोबाइल नचल्ने
FACEBOOK COMMENTS