चितवन । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले चितवनका सञ्चारकर्मीहरुलाई लक्षित गर्दै विद्युतिय सवारी (इभी) सम्बन्धी एक दिने अभिमुखीकरण (ओरिन्टेसन) कार्यक्रम सम्पन्न गरेको छ।
अन्तर्राष्ट्रिय अटोमोवाइल्स फेडरेसन (एफआइए) को ‘सेफ एण्ड सस्टेनेबल मोविलिटी ग्रान्ट’को सहयोगमा आयोजित उक्त कार्यक्रममार्फत इभीको बढ्दो प्रयोग, यसको प्रविधि, सुरक्षा र दिगोपनाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा चितवन तथा आसपासका करिब चार दर्जन सञ्चारकर्मीहरुलाई इभी सम्बन्धी तथ्यपरक रिपोर्टिङ, नवीन प्रविधि, नेपाल तथा विश्वमा भइरहेको विकासक्रम, साथै यसको अवसर र चुनौतीका विषयमा प्रस्तुति दिइएको थियो।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपालमा इभीसँग सम्बन्धित सार्वजनिक चासोका विषय तथा संस्थाको भूमिका बारे जानकारी गराएका थिए। यस्तै, मोटरिङ्ग एकेडेमी नेपालका इभी विज्ञ समराज श्रेष्ठले इभीको प्राविधिक पक्षबारे प्रस्तुति दिएका थिए भने वागमती अटोमोवाइल एसोसिएसनका अध्यक्ष राजन पियाले चितवन क्षेत्रमा इभीको अवस्था र सम्भावनाबारे प्रकाश पारेका थिए।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय मिडियाका प्रतिनिधि, सामाजिक सञ्जालकर्मी, अटोमोबाइल व्यवसायी तथा अध्ययनकर्ताहरुको सहभागिता रहेको थियो। सहभागी सञ्चारकर्मीहरुले यस्तो अभिमुखीकरणले नेपालमा इभीसँगै आएका अवसर र चुनौतीलाई बुझ्न सहयोग पुगेको बताएका छन्।

नासा नेपालले ‘इभीजन नेपाल’ परियोजना अन्तर्गत इभीको प्राविधिक, आर्थिक, नीतिगत तथा सुरक्षासम्बन्धी अध्ययन गर्दै विस्तृत प्रतिवेदन तयार गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
