काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्य वृद्धिको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयको निर्णयअनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञ कविन मलेकु सदस्य रहेका छन् ।
समितिलाई औषधिको मूल्य निर्धारण प्रक्रिया, सो प्रक्रिया पालना भए–नभएको, र कुनै अनियमितता भए त्यसमा कसको संलग्नता रहेको भन्ने विषयमा विस्तृत अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
साथै, आवश्यक परेमा समितिले अन्य विज्ञ तथा कर्मचारीलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
