काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान ((एनडीआरआई) ले अन्तर्राष्ट्रिय विकास अनुसन्धान संस्थान, क्यानडा (आइडीआरआई) को सहयोगमा सञ्चालन गरेको “सम्भावित स्तरोन्मुख उद्यममा नवप्रवर्तन तथा समावेशीता प्रवद्र्धन नेपालबाट प्रमाण” शीर्षकको तीन वर्षे अध्ययन परियोजना सम्बन्धी कार्यशाला गोष्ठी माघ १४ र १५ गते काठमाडौंको होटल हिमालय, कुपण्डोलमा सम्पन्न भएको छ ।
उक्त गोष्ठी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । अध्ययनबाट प्राप्त नतिजा, अनुभव तथा सिकाइहरू नीति–निर्माता तथा सरोकारवाला निकायहरूसँग साझा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय तहका नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, मधेश र गण्डकी प्रदेशका उद्योग मन्त्रालयका सचिवज्यूहरू, कोशी र सुदूरपश्चिम प्रदेशका उद्योग मन्त्रालयका प्रतिनिधिज्यूहरू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिवज्यू, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रतिनिधिहरू, उद्यम विकास सहजकर्ता, असुली सहजकर्ता तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यशालामा प्रस्तुत अध्ययनले नेपाल सरकारले सञ्चालन गरेका दुई प्रमुख कार्यक्रम— गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र युवा तथा साना व्यवसायी स्वरोजगार कोष (वाईएसईएफ) तथा स्वतन्त्र उद्यमीहरूको तुलनात्मक विश्लेषण गरेको छ । अध्ययनका नतिजाले नयाँ उद्यम स्थापना र रोजगारी सिर्जनामा यी कार्यक्रमहरूको सकारात्मक योगदान देखिए पनि दीर्घकालीन दिगोपनमा अझै चुनौती रहेको औँल्याएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठज्यूले अध्ययनबाट प्रस्तुत तथ्य र प्रमाणहरूले कार्यक्रमका उपलब्धी, कमजोरी र सुधारका सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा उजागर गरेको उल्लेख गर्नुभयो । उहाँले संघीय संरचना अनुसार कार्यक्रमहरूको पुनर्संरचना, स्थानीय तहको भूमिकालाई सुदृढ बनाउने तथा प्रमाणमा आधारित नीति निर्माण आवश्यक रहेकोमा जोड दिनुभयो ।

विशेषत: कार्यक्रमले उद्यमी उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको भए पनि उद्यमलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन थप सुधार आवश्यक रहेको अध्ययनले देखाएको छ । तुलनात्मक रूपमा युवा स्वरोजगार कोष अन्तर्गत लगानी र कर्जा असुली अपेक्षाकृत प्रभावकारी देखिए पनि कोषको मूल उद्देश्य— युवालाई स्वदेशमै उद्यमशील बनाउँदै वैदेशिक पलायन निरुत्साहित गर्ने लक्ष्य— पर्याप्त रूपमा हासिल हुन नसकेको अध्ययनले निष्कर्ष निकालेको छ ।
त्यसैगरी, राज्यको प्रत्यक्ष सहयोग नलिएका स्वतन्त्र उद्यमीहरूका अधिकांश सूचकहरू सरकारी कार्यक्रम अन्तर्गतका उद्यमीहरूको तुलनामा बलिया देखिएका छन् । यसले राज्यका कार्यक्रमहरू आवश्यक छैनन् भन्ने नभई संघीय सन्दर्भअनुसार तिनको पुनरावलोकन, सुधार तथा कार्यान्वयन विधिमा परिवर्तन आवश्यक रहेको अध्ययनले सुझाएको छ ।

संघीयता कार्यान्वयन भइसकेको वर्तमान सन्दर्भमा तथा जस्ता कार्यक्रमहरूको औचित्य र प्रभावकारिताबारे पुन: गम्भीर समीक्षा आवश्यक देखिएको छ । हाल माइक्रोफाइनान्स संस्थाहरूले यी कार्यक्रमहरूको तुलनामा धेरै ठूलो परिमाणको वित्तीय कारोबार गरिरहेका अवस्थामा साना कार्यक्रमहरूले प्रदेश तथा स्थानीय तहमा साँच्चिकै ठोस प्रभाव पारेका छन् कि प्रशासनिक भार मात्र थपिरहेका छन् भन्ने विषय मूल्यांकन गर्नुपर्ने अध्ययनले औँल्याएको छ ।

कार्यक्रममा बोल्दै एनडिआरआईका वरिष्ठ अनुसन्धानकर्ता प्रा.डा पुण्य प्रसाद रेग्मीले शुभकामना मन्तब्य तथा अध्ययन प्रतिबेदनमाथी संक्षिप्त रुपमा प्रकाश पार्नु भएको थियो । उहाँले अनुसन्धान र इभिडेन्समा आधारित रहेर नीति, योजनाहरु बन्नेपर्नेमा नेपालमा त्यो खालको अभ्यास अझै नभएकोले विकास योजनाहरु अलपत्र पर्ने गरेको बताउँनु भयो ।

त्यसैगरी, कार्यक्रममा बोल्नुहुँदै एनडीआरआईका कार्यक्रम संयोजक डा जय कुमार गुरुङले भन्नुभयो— “देशलाई समृद्ध बनाउने हो भने आर्थिक क्रान्ति अपरिहार्य छ, र त्यसको आधार औद्योगिकीकरण नै हो । नेपालको सन्दर्भमा आफ्नै क्षमतामा गर्न सकिने औद्योगिकीकरण साना तथा मझौला उद्योगबाट सुरु गर्नुपर्छ ।

हाल सबै राजनीतिक दलहरूले आफ्ना घोषणापत्र तयार पारिरहेका छन् । ती घोषणापत्रहरूलाई यथार्थपरक र प्रभावकारी बनाउन यस्ता अनुसन्धानबाट प्राप्त प्रमाणहरू अत्यन्त उपयोगी हुने विश्वास हामीले गरेका छौँ ।”
त्यसैगरी नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) का कार्यकारी निर्देशक डा शिखा थापा मगरले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । उहाँले एनडीआरआईले आगामी दिनहरुमा अझै महत्वपुर्ण अनुसन्धान र अध्ययनको कामलाई निरन्तरता दिनेमा जोड दिनेमा जोड दिनुभयो ।
कार्यक्रमको अन्त्यमा गोष्ठीमा सहभागिहरुलाई नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यक्रम संयोजक डा जय कुमार गुरुङ्गले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा उपस्थीतहरुबीच समुहगत छलफल, अन्र्तकृया, प्रश्नोत्तर र सफल उद्यमीहरुको अनुभवहरु साटासाट गरिएको थियो । उपस्थीतहरुलाई एनडिआरआईका अध्यक्ष डा जय कुमार गुरुङ्गले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले यस अध्ययनबाट प्राप्त ज्ञान, प्रमाण र अनुभवलाई आगामी दिनमा उद्यमशीलता प्रवर्धन तथा नीति सुधारका लागि मार्गदर्शकका रूपमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS