काठमाडौंं । सरकारद्धारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो । वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी थिए ।
आजको वार्ताको निचोडपछि अभियानको संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।
सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो ।
सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।

कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरुसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको थियो । सोही समितिले आज अभियानका टोलीसँग वार्ता गरेको हो ।

FACEBOOK COMMENTS