नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजकी प्रबन्ध निर्देशक मेघा चौधरी नेपालको स्वास्थ्य सेवा उद्योगमा महत्वपूर्ण प्रभाव जमाउँदै अघि बढिरहेकी युवा महिला नेतृत्व हो । नेपालको स्वास्थ्य सेवा क्षेत्रको उत्थानका लागि नवीन, जानकार र प्रणालीगत रूपमा काम गर्ने सफल नेतृत्वको रूपमा ‘बिज पुरस्कार-२०१९’ प्राप्त गर्न सफल उनी पछिल्लो समय नर्भिक अस्पताललाई देशव्यापी बनाउने अभियानमा सक्रिय छिन् । काठमाडौं उपत्यकाबाहिरका मानिसहरूले पनि राजधानी काठमाडौंमा रहेका अस्पतालहरूको जस्तै उपचार सेवा पाउनुपर्नेमा जोड दिँदै आएकी छिन् । त्यसैकारण उनी नर्भिक अस्पताललाई उपत्यकाबाहिरका प्रमुख सहरहरूमा विस्तार गर्ने तयारीमा छिन् । साथै, अस्पतालको स्थायित्व विकासका लागि जनतासँग समेत जोडिने प्रक्रिया अघि बढाएको अस्पतालले निकट भविष्यमा साधारण शेयर (आईपीओ) समेत जारी गर्ने तयारी गरिरहेको छ । अस्पताललाई ‘मेरो वा तपाइँको’ बाट ‘हाम्रो’ बनाउँदा संस्थागत विकासमा टेवा पुग्नाका साथै आम नेपालीहरूले समेत अपनत्व महसुस गर्ने अस्पतालको ठम्याई छ । प्रस्तुत छ, अस्पतालका यी र यस्ता विषयहरूमा केन्द्रित रहेर नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीसँग कर्पोरेट खबरका भोजराज भण्डारीले गरेको विशेष कुराकानीको सम्पादित अंश-
नर्भिक अस्पतालले सन् १९९३ मा पहिलोपटक ‘नर्भिक हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड’बाट ३० वटा बेडबाट आफ्नो सेवा सुरुवात गरेको थियो, आज त्यो दिनलाई फर्किएर हेर्दा कस्तो अनुभूति गर्नुहुन्छ ?
मेरो बुबा बसन्त चौधरीले ‘नर्भिक हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड’ सुरू गर्नुहुँदा म सानै थिएँ । व्यक्तिगत रूपमा भन्नुहुन्छ भने नर्भिक र म सँगसँगै हुर्किएका हौँ । तथापि यो अस्पताल पहिला सानो भवनमा थियो । म प्रायः सधैँजसो अस्पतालमा आउनेजाने गरिरहन्थेँ । त्यसक्रममा मलाई अस्पतालमा हुने गतिविधिहरू अनौठो लाग्ने गर्दथ्यो । ती अनौठा गतिविधिहरूमा दिनप्रतिदिन म अभ्यस्त हुँदै गएँ । मेरो बुबा (बसन्त चौधरी) यो अस्पतालको संस्थापक हुनुभए पनि मलाई उहाँले सुरूमै ठूलो र भारी जिम्मेवारीको पद दिनुभएन । जुनसुकै काम पनि तलैबाट सिक्न र गर्न जान्नुपर्छ भन्ने उहाँको सुझाव र इच्छाबमोजिम नै मैले अस्पतालमा तलैबाट विभिन्न कामहरू गर्दै गएँ ।
नियमित नर्भिक आइरहँदा मलाई खोई किन हो फार्मेसीमा औषधिको बिक्रीवितरण भएको धेरै रमाइलो लाग्थ्यो र त्यहीँ गएर बस्थेँ अनि विभिन्न गतिविधिहरू नियाल्थेँ । कोही कोही हाँसेर त कोही कोही रुँदै आउनुहुनेदेखि विभिन्न खालका बिरामीहरूलाई त्यहीँबाट नियाँले । ती सारा गतिविधि हेर्दाहेर्दै र झेल्दाझेल्दै आज म यो अस्पताललाई सञ्चालन गर्ने नेतृत्व तहसम्म आइपुगेको छु ।
यहाँले ‘नर्भिक र आफू सँगसँगै हुर्किएको’ बताउनुभयो । त्यसकारण अस्पताल सञ्चालनको मितिदेखिकै अनुभूति यहाँसँग नहुनु स्वाभाविक हो । तर, तपाइँको बुबाको त्यहाँदेखि यहाँसम्मको संघर्षलगायत पक्षहरूबारे के-कति जानकारी राख्नुभएको छ ?
नेपालमा राम्रो र गुणस्तरीय अस्पतालहरू नभएका कारण अधिकांश बिरामीहरूको मुख्य-मुख्य रोगको उपचार गर्न भारत जार्नुपर्ने अवस्थाको अन्त्यका लागि बुबाले नर्भिक सञ्चालनको अवधारणा ल्याउनुभएको हो । जतिबेला जुन अवस्थामा नर्भिक सञ्चालन गरिएको थियो आजको अवस्थासम्म आउने वा ल्याउने सोच बनाइएको पनि थिएन । सुरुवाती चरणमै नर्भिकले मुटु रोगको उपचारलाई प्राथमिकता दिएर आफ्नो सेवा आरम्भ गरेको थियो । दिल्लीका ‘हार्ट सेन्टर’हरूमा बुबा र म गइरहन्थ्यौँ । त्यहाँ देखिएको ‘हार्ट सेन्टर’लाई हेरेर नै यहाँ हामीले मुटु रोगको उपचारलाई केन्द्रित गरेर अघि बढेका हौँ ।
नर्भिक सञ्चालनमा ल्याउनुअघि उहाँ (बुबा) ले धेरै डाक्टरहरूसँग परामर्श गर्नुभएको थियो । त्यसक्रममा म पनि सँगसँगै हुन्थेँ । बुबा र म दुवैजना मेडिकल फिल्डका नभएका कारण पनि हचुवाको भरमा लगानी गरिहाल्दा सेवा प्रवाहमा समस्या आउनसक्ने अवस्थाप्रति हामी सचेत थियौँ । त्यसकारण पनि बुबाले विभिन्न परामर्श, छलफल र अध्ययन गर्नुहुन्थ्यो । खासगरी आफू स्वयम् पनि अस्पताल गइरहनुपर्ने र गइरहँदा देखिएका र भोगिएका कतिपय परिस्थितिहरूले अस्पताल खोल्ने विन्दुसम्म बुबा पुग्नुभएको हो । आफू स्वयम् बारम्बार अस्पताल गइरहँदा विभिन्न अनुभव समेत हामी सङ्कलन गरिरहेका हुन्थ्यौँ । त्यसले पनि आज नर्भिकलाई यो स्थानसम्म ल्याइपुर्याउन मद्दत गरेको छ भन्ने मेरो बुझाइ छ ।
पछिल्लो समय नर्भिक इन्टरनेशनल हस्पिटल ‘तपाइँको’ बाट ‘हाम्रो’ बनिसकेपछि यसका गतिविधि र उपचार सेवाहरू के कसरी अघि बढिरहेका छन् ?
तपाइँले प्रश्नमा उल्लेख गर्नुभएजस्तै यो अस्पताललाई ‘मेरो’ बाट ‘हाम्रो’ बनाउने र आम नेपालीहरू सबै नर्भिक हस्पिटलको एउटा अङ्ग हुन् भनेर प्रस्तुत गर्ने उद्देश्य अनुसार हामीले यो संस्थालाई प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनाएका हौँ । यसबाट नर्भिकको वृद्धिविकासका साथै अहिले दिन नसकिएका थप नवीनतम सेवाहरू दिन सक्षम हुने छ । अहिले हामीसँग अर्वुद रोग (क्यान्सर), आँखा (आई) र दाँत (डेण्टल) सम्बन्धी सेवाहरू त्यति प्रभावकारी छैन । यी र यस्ता थुप्रै सेवाहरू थप गर्दै अस्पताललाई थप स्थानहरूमा विस्तार गर्नेसम्मको लक्ष्य हामीले लिएका छौँ । त्यसका लागि अब हामी अस्पतालको शेयर सर्वसाधारणलाई पनि दिन्छौँ । त्यसका निम्ति विभिन्न प्रक्रियाहरू पनि अघि बढाइसकेका छौँ । हामी साधारण शेयर (आईपीओ)मा जाँदाखेरि हस्पिटलको ‘भ्यालु’ बढ्नाका साथै थप सेवा विस्तारमा टेवा पुग्ने छ ।
समग्रमा हेर्दा नर्भिक अस्पतालको उपचार सेवामा पुँजीपति वर्गका मानिसहरूको मात्रै पहुँच पुग्दै आएको छ भनिन्छ । मध्यम र निम्नवर्गीय परिवारका बिरामीहरूलाई नर्भिक आउने वातावरण कहिले बनाउनुहुन्छ ?
सबैभन्दा पहिला यो स्पष्ट पार्न चाहन्छु कि नर्भिक अस्पतालको उपचार सेवामा कुनै पनि वर्ग विभाजन गरिएको छैन, सबै वर्गका बिरामीहरूलाई उपचार सेवा उपलब्ध गराउँदै आएका छौँ । तर, मानिसहरूले किन ‘वर्ग’को कुरा गरिरहनुभएको छ यो विषय हामीलाई पनि अचम्म लागिरहेको छ । अन्तर्राष्ट्रियस्तरको अस्पताल भन्दैमा महङ्गो नै हुन्छ भन्ने छैन ।
नर्भिक हस्पिटलले दिने सेवासुविधा, सेवासुविधाको स्तर, हामीले बिरामीलाई उपलब्ध गराउने शै्या र कोठाहरूको गुणस्तर र अनुभवी चिकित्सकहरूको उपलब्धतालगायतलाई हेरेर हामीले शुल्क निर्धारण गरेका हुन्छौँ । त्यही शुल्कलाई आधार मानेर मानिसहरूले त्यस प्रकारको टिप्पणी गर्नुभएको हुनसक्छ । यदि त्यसो हो भने उहाँहरूको टिप्पणी गलत हो भन्न चाहन्छु । हाम्रोमा सबैभन्दा धेरै शै्याहरू जनरल र स्ट्याण्डर्ड वार्डहरूमा छन्, ती शै्याहरू कहिल्यै खाली हुँदैनन् । ती शै्याहरू मध्यमवर्गभन्दा पनि निम्न वर्गका बिरामीहरूले नै अकुपाइ गरिरहनुभएको छ । यदि बजारमा हल्ला भएअनुसार हस्पिटलको शुल्कहरू महङ्गो नै भए ती सबै शै्याहरू खाली नै हुनुपर्ने होइन र ?
नर्भिक अस्पतालको विकास र विस्तारका लागि के सोचिरहनुभएको छ ?
अहिले हामी सङ्घीय राजधानीमा मात्रै सीमित छौँ । नर्भिक मात्र होइन देशमा भएका अधिकांश ठूला अस्पतालहरू काठमाडौंमा मात्रै सीमित छन् । यस्तो अवस्थाका बीच हामी नर्भिक अस्पतालको सेवा देशको कम्तीमा पूर्व र पश्चिमतिर विस्तार गर्न चाहिरहेका छौँ । यसो गर्दा ती क्षेत्रका नागरिकहरूले पनि स्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बन्छ भन्ने हामीलाई लागेको छ । तर, अहिले यहाँ नै बिरामीको चाप परिरहेको भएर उहीँ यसको विस्तारका लागि निर्माण कार्य गरिरहेका छौँ । त्यसपछि हामी पोखरा, विराटनगर, बुटवललगायत देशका मुख्य सहरहरूमा नर्भिक अस्पताल विस्तार गर्ने योजनामा छौँ । त्यसका लागि उपयुक्त स्थानलगायत विषयमा हामी अध्ययन गरिरहेका छौँ ।
उपत्यकाबाहिर खुल्ने नर्भिक अस्पतालमा सेवासुविधाचाहिँ के-कस्ता हुने छन् ?
काठमाडौंमा अहिले नर्भिक अस्पताल जत्रो छ उपत्यकाबाहिर अहिले नै त्यत्रै नबन्ला, तर सेवासुविधा यस्तै प्रकारको उपलब्ध गराउँछौँ । हामी त्यो क्षेत्रमा कुन रोगका बिरामीका लागि बढी सेवा आवश्यक छ हेरेर उक्त सेवालाई प्राथमिकीकरण गर्ने छौँ । यसका लागि पनि हामी पूर्वअध्ययन गर्नेछौँ ।
काठमाडौंमा सानादेखि ठूलासम्म धेरै अस्पताल छन् । ती सबै अस्पतालहरूबीच प्रतिस्पर्धा भइनै हाल्छ । खासगरी ठूला अस्पतालहरूबीच कुन-कुन कुरामा प्रतिस्पर्धा हुने गर्दछ ?
नेपालमा केही सीमित अस्पतालहरू मात्रै छन् जुन वास्तविक रूपमा कर्पोरेट अस्पताल हुन् । त्यसमध्येको पहिलो नर्भिक अस्पताल हो । सबै अस्पतालको चाहना ‘बेष्ट सर्भिस’ उपलब्ध गराउने नै हुन्छ, तर सबैसँग २४ घण्टा नै ‘इन हाउस’ डाक्टरहरू र नयाँ टेक्नोलोजीहरू उपलब्ध नभएका पनि हामी पाउँछौँ । अरू अस्पतालहरूले जग्गा जोड्ने र ठूलाठूला भवन बनाउने काममा पैसा खर्च गरिरहँदा नर्भिकले नयाँ-नयाँ टेक्नोलोजी भित्र्याएर विभिन्न रोगहरूको उपचार पद्धतिलाई छिटोछरितो, सहज, सर्वसुलभ बनाउँदै आइरहेको छ ।
नर्भिक सबैभन्दा पुरानो प्राइभेट हस्पिटल हो र यहाँ आम मानिसहरूको ठूलो विश्वास छ । अहिले नर्भिकलाई चिनिने भनेको नै ‘क्रिटिकल केयर’का लागि हो । ‘क्रिटिकल केस’हरू आयो भने अरू प्राइभेट अस्पतालहरूले पनि नर्भिकमा ‘रिफर’ गरेर पठाउने गरेका छन् । नर्भिकको ‘क्रिटिकल ह्याण्डलिङ’ टीम अरू सबैको भन्दा राम्रो छ भनेर नै उहाँहरू यहाँ पठाउने गर्नुभएको हो । यो हाम्रो मुख्य ‘युनिक सेलिङ प्वाइन्ट’ पनि हो । अर्को कुरा ‘इन हाउस’ डाक्टरहरू २४ घण्टा नै उपलब्ध हुनु र अस्पतालको लोकेशनसमेत उपयुक्त ठाउँमा रहनुले पनि नर्भिक आउनुहुने बिरामीलाई फाइदाको विषय हो ।
नेपालकै ठूलो र प्रतिष्ठित व्यापारिक घरानाका व्यक्तिहरूको संलग्नताबाट यो अस्पताल चलाइरहनुभएको छ । यसको विस्तार र प्रवर्द्र्धनका लागि तपाइँहरू स्वयम् सक्षम हुनुहुन्छ भन्ने देखिन्छ । तर, किन सर्वसाधारणतिर लम्किदै हुनुहुन्छ ?
तपाइँ-हामीले अगाडि पनि उल्लेख गरिसक्यौँ कि नर्भिक अस्पताललाई तपाइँको वा मेरोबाट सबैको बनाउने प्रयत्नस्वरुप हामी सर्वसाधारणसँग जाने तयारी गरेका हौँ । अर्को कुरा, संस्थाका संस्थापक भोलिका दिनमा रहे पनि वा नरहे पनि संस्था निरन्तर चलिरहनुपर्छ भन्ने मान्यताका साथ नर्भिक अस्पतालको स्थायित्वका निम्ति हामीले यो पहलकदमी अघि सारेका हौँ ।
नर्भिकमा धेरैजसो प्रतिष्ठित व्यक्तिहरूको उपचार भइरहेको पाउँछौँ । त्यसक्रममा उहाँहरूबाट पाउने प्रतिक्रिया के-कस्ता छन् र तपाइँहरूको अनुभूति कस्तो रहने गरेको छ ?
प्रतिष्ठित व्यक्तित्वहरू हामीलाई विश्वास गरेर नर्भिक अस्पतालमा आउँदा हामीलाई कुनै दबाबभन्दा पनि उत्तरदायित्व बढी महसुस हुने गरेको छ । बिरामीका शुभचिन्तक, शुभेच्छुक र आफन्तहरूको ठूलो सङ्ख्या अस्पताल आउनुभएको हुन्छ, मिडियाहरूको अटेन्सन रहिरहेको हुन्छ । यो काम नर्भिकले पहिला राजा छँदादेखि नै गर्दै आएको थियो र अहिले पनि गरिरहेको छ । अब त हामी बानी पनि परिसकेका छौँ र सधैं तयारी अवस्थामा पनि छौँ । यसबाट पनि यो अस्पताल राजादेखि रैतीसम्मका सबैले पहुँच राख्ने अस्पताल हो भन्ने कुरा पुष्टि हुन्छ । नर्भिकमा ठूलो मान्छेलाई अर्कै र सानो मान्छेलाई अर्कै किसिमको उपचार सेवा हुँदैन, सबैलाई समान हुन्छ ।
नर्भिक अस्पतालबारे हाम्रो जिज्ञासा यो बसाइका लागि यत्ति नै, अन्तिममा केही थप कुराहरू भन्न चाहनुहुन्छ कि ?
नर्भिक अस्पताल अहिले ३१ वर्षमा लाग्यो । यो वर्ष नर्भिकले आफूलाई वातावरणमैत्री कसरी बनाउने भन्ने विषयमा काम गर्ने उद्देश्य राखेको छ । यो वर्षदेखि हामीले नर्भिकमा प्लाष्टिकका गार्बेज ब्यागहरूको प्रयोग पूर्णतः बन्देज गरेर बायोडिग्रेबल प्रयोगमा ल्याएका छौँ । यस्तै, नेपालमै पहिलोपटक बायोमेडिकल बेस्ड म्यानेजमेन्ट सिस्टम अपनाएर नर्भिकले वातावरणमैत्री कामको सुरूवात पनि गरेको छ । त्यसकारण वातावरणलाई हानी पुर्याउने कुनै काम नर्भिकबाट हुने छैन । बडीका एमप्युड गरिएका पार्टसहरूदेखि हस्पतालमा सिरियस बेस्डहरू त्यसलाई बायोमेडिकल बेस्ड म्यानेजमेन्ट सिस्टमअनुसार सुरक्षित रूपमा ‘डिस्पोज’ गर्ने गरेका छौँ । तर, यो कुरा धेरैले बुझ्नुभएको छैन भने केहीले बुझ्दै जानुभएको छ ।
FACEBOOK COMMENTS