काठमाडौं । उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरू गरिएको छ।
आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमबीच मेलम्ची खानेपानीको पुनः वितरण सुरू गरेका हुन्।
मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरू भएको भए पनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो।
मेलम्ची खानेपानीको पुनः वितरण सुरू भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ।
खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए।
उनले वर्षायाममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सूचना दिन अर्ली एलर्ट मेसिन जडान गरिएको बताए। मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्न मन्त्रालयमा सचिवको संयोजकत्वमा कोअर्डिनेशन कमिटी गठन गरेको उल्लेख गरे।
उनले वर्षायाममा मेलम्चीको पानीको विकल्पको रूपमा बागमती नदिको पानी शुद्धिकरण गरी ल्याउने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए।
मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन्।
ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै उनले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिन पिउन आग्रह गरे।
‘
FACEBOOK COMMENTS