काठमाडौं । मेलम्ची नदीमा बारम्बार आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको भविष्य फेरि पछि धकेलिदिएको छ ।
लामो प्रतीक्षापछि सम्पन्न आयोजनामा गत असार १ र त्यसपछिका बाढीले ठूलो क्षति पुर्याएपछि मेलम्चीको पानी फेरि उपत्यकाको धारामा झर्ने कहिले भन्नेमा अन्योल उत्पन्न भएको हो ।
असार १ को बाढीपहिरोले यो आयोजनाको हेडवक्र्स जाने अम्बाथानको पहुँचमार्ग, अस्थायी बाँधसहित हेडवक्र्समा ठूलो क्षति पुर्यायो। फेरि साउन १५ गते आएको बाढीपहिरोले थप संरचनामा क्षति पुर्याएको छ ।
साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ । अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ ।
आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भागबाट ढुंगा, गिट्टी, बालुवा, माटो मिसिएर आएको बाढीले संरचनामा एकपछि अर्कौ गर्दै क्षति पुर्याइरहेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार आयोजनाको जलाधार क्षेत्रबाट बारम्बार लेदोसहितको बाढी आउँछ।

‘मेलम्ची आयोजनाको जलाधार क्षेत्रबाट निरन्तर रूपमा लेदोसहितको बाढीपहिरोले हेडवक्र्स क्षेत्रमा कटान गर्नुको साथै ग्रेगान थुपार्ने र आयोजनाको पहुँचमार्ग तथा अन्य संरचनामा क्षति पु¥याइरहेको छ,’ उनले भने, ‘त्यसैले कति क्षति भयो भन्ने कुरा अनुमान गर्न सकिने अवस्था छैन।’

प्रवक्ता पन्तले बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनस्र्थापनाको लागि एक अर्ब ८८ करोड रूपैयाँको लागत इस्टिमेट तयार पारेको बताए। ‘अब आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो जलाधार क्षेत्रमा बाढीपहिरो नियन्त्रणको कामसँगै हेडवक्र्स संरचनाको मर्मतसम्भार गर्नुपर्छ,’ उनले भने, ‘हेडवक्र्स क्षेत्रमा बालुवा, गिट्टी, गेग्रानले पुरिए पनि सुरुङमार्गमा भने केही क्षति भएको छैन ।’

बारम्बार बाढीपहिरो आइरहको र नदीमा पानीको सतह नघटेकाले आयोजनाको मर्मतसम्भार कहिलेदेखि सुरु गर्ने भन्ने अन्योल छ। बाढीपहिरोले करिब आठ किलोमिटर पहुँचमार्ग र ६ वटा पुलको संरचनामा क्षति पुर्याएको छ। ‘पहुँचमार्गमा क्षति हुँदा आयोजनास्थल पुग्न सकेका छैनौं,’ उनले भने, ‘निरन्तर वर्षा र बाढीपहिरोका कारण पहुँचमार्ग निर्माणको कामले पनि गति लिन सकेको छैन।’
समितिले तयार पारेको कार्ययोजनामा असोजको पहिलो सातासम्म बाढीपहिरो रोकिएर नदीमा सङ्लो पानी बगेसँगै हेडवक्र्स क्षेत्रको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउने काम सुरु गर्ने उल्लेख छ। तर पछिल्लो समय बाढीपहिरो नियन्त्रण नभएकाले कार्ययोजनाले तोकेको मिति तलमाथि हुने सम्भावना छ ।
असार १ मा बाढीपहिरोसँगै आएको बालुवा, गिट्टी र ग्रेगानले हेडवक्र्सका संरचनाहरू १५ मिटरभन्दा धेरै पुरिएको छ। मेलम्ची आयोजनाको पहुँचमार्गमा रहेका दुईवटा, हेडवक्र्ससँगै रहेका र चनौटेको सहित ६ वटा पुल क्षतिग्रस्त भएका छन्। मेलम्ची नदीको पानी डाइभर्सन गर्न निर्माण गरिएको अस्थायी बाँधसमेत गेग्रानले पुरिएको आजको नागरिक दैनिकमा समाचार छ ।