काठमाडौँ । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए ।
पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन) नौ नम्बर, १० नम्बर ढोका (हेडवक्र्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो ।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले सफाइको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवक्र्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको छ आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS